१ कार्तिक २०८३, आइतबार

संयुक्त राष्ट्रसंघका उपमहासचिव हेर्भी लाड्सौस सोमबार नेपाल आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

undp-1

काठमाडौँ, १ साउन । संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा शान्ति स्थापना विभागका प्रमुख हेर्भी लाड्सौस नेपालको दुईदिने औपचारिक भ्रमणमा आगामी सोमबार नेपाल आउने भएका छन् ।

नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान लेखनका क्रममा भएका प्रगति तथा नेपाली सेना र सुरक्षा निकायको वस्तुस्थितिबारे जानकारी लिने उद्देश्यले सरकारको निमन्त्रणामा उपमहासचिव लाड्सौस नेपाल भ्रमणमा आउन लागेका हुन् । भ्रमणका क्रममा उनले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्वास्थ्योपचारका सिलसिलामा हाल अमेरिकामा रहेका रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हालेका प्रधानमन्त्री कोइराला उपमहासचिव लाड्सौसको भ्रमणका बेला स्वदेश आइसक्ने सम्भावना रहेको मन्त्रालयले बताएको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले सोमबार आयोजना गर्ने ‘शान्ति कायमका  परिवर्तित कार्यक्षेत्र र आयाममा नेपालको सहभागिता’ विषयक छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा उपमहासचिव लाड्सौसले सम्बोधन गर्ने र सोही दिन नेपाली सेनाले पनि शान्ति सेनामा नेपाली सैन्यले गरेको योगदान, भावी योजना तथा रणनीतिबारे जानकारी गराउन बेग्लै अर्को कार्यक्रम गर्नेछ । कार्यक्रममा नेपाली सेनाका उच्च अधिकारीका साथै रक्षा, गृह र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागिता रहनेछ ।

शान्ति स्थापनासम्बन्धी राष्ट्रसंघीय प्रधान कार्यालय र कार्यक्षेत्रस्थित कार्यालयका उच्च ओहोदामा रहेर नेपालले विश्व शान्ति स्थापनाको राष्ट्रसङ्घीय प्रयासमा योगदान गर्दै आएको र शान्ति सेनामा सुरक्षाकर्मी परिचालन गर्ने १० मुलुकको उच्च सूचीमा नेपाल रहेकाले नीति निर्माण एवम् निर्णायक तहमा पनि नेपालको प्रतिनिधित्वको सुनिश्चितताका लागि सरकारले उपमहासचिव लाड्सौससँग अनुरोध गर्नेछ ।

सन् १९५८ देखि नेपाली सेनाले राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा योगदान गर्दै आएको छ । शान्ति सेनामा अधिक सेना पठाएर योगदान गर्ने मुलुकहरुको सूचीमा छैटौं स्थानमा रहेको नेपालले विश्व शान्ति तथा सुरक्षा बहालीका लागि हालसम्म एक लाखभन्दा बढी सैनिक एवम् प्रहरी परिचालन गरिसकेको छ । हाल विश्वका विभिन्न ११ वटा राष्ट्रसङ्घीय शान्ति मिसनमा चार हजार ५०० को हाराहारीमा नेपाली सेना कार्यरत छन् ।

दक्षिण एसियाली राष्ट्र भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काले पनि राष्ट्रसङ्घीय शान्ति मिसनमा सैनिक परिचालन गरेका छन् ।