बाबियाचौर (म्याग्दी), १५ माघ । रु छ करोडभन्दा बढीको लागतमा अर्थुङ्गे देउराली–तोरीपानी सडक आयोजनाको काम सुरु भएको छ ।
हाल कच्ची अवस्थामा रहेको सडकको स्तरवृद्धि गरी नियमित यातायात सञ्चालन गर्न सक्ने बनाउन एसियाली विकास बैंकको सहयोगमा जिविसद्वारा सञ्चालित विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप) मार्फत आयोजना सञ्चालन भएको हो ।
सात किलोमिटर दूरीको उक्त सडक आयोजनाको काम यसै महिनादेखि सुरु भएको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले बताउनुभयो । रु छ करोड १५ लाख ४९ हजार ९८४ मा आयोजनाको काम गर्न ह्युनुम एन्ड ठोक्कर नाना जेभीसँग सम्झौता भएको छ । २०७३ भदौ २ गतेसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
निर्धारित समयमै आयोजनाको काम सम्पन्न गर्न ठेकेदारलाई कार्यतालिकाअनुसार कार्यक्षेत्रमा परिचालन गरेको स्थानीय विकास अधिकारी पौडेलले जानकारी दिनुभयो । ठेकेदार कम्पनीले पहिलो चरणमा सडक चाक्लो बनाउने, ग्याबिन पर्खाल लगाउने कामलाई तीव्रता दिएको छ । हाल कच्ची अवस्थामा रहेको उक्त सडकलाई चार मिटर फराकिलो बनाउने, नाली निर्माण गर्ने, घुम्ती तथा मोड सुधार गरी ग्राभेल गर्ने योजना रहेको छ ।
यसैगरी, ड्रिलिप परियोजनाअन्तर्गत पहिलो चरणको बेनी–देउराली ३.१ किलोमिटर दूरीको सडक स्तरवृद्धि योजनाको ठेकेदार एक वर्षपछि कार्यक्षेत्रमा फर्किएको छ । जग्गा विवाद, भूकम्प र इन्धनको कारण देखाउँदै काम सुरु गरेको दुई महिनामै २०७१ मङ्सिरदेखि काम रोकेको कम्पनीले केही दिनयता स्तरवृद्धिको कामलाई तीव्रता दिएको आयोजना प्रमुख ओमबहादुर केसीले बताउनुभयो । बेनी–पाखापानी सडक म्याग्दीमा यस वर्ष सञ्चालित सबैभन्दा ठूलो र बहुप्रतिक्षित आयोजना हो ।
म्याग्दीको राहुघाट क्षेत्रलाई सदरमुकामसँग जोड्ने बेनी–पाखापानी सडक आयोजनाबाट बेनी नगरपालिकाको ९ र १० वडा, पात्लेखेत, पाखापानी, मल्कवाङ, चिमखोला, कुइनेमङ्गलेलगायत गाविसका बासिन्दालाई सदरमुकाम आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ । रासस















प्रतिक्रिया