
नेपालगञ्ज, १४ माघ । बाँकेको फत्तेपुर गाविसस्थित जन सिद्धेश्वर बहुमुखी क्याम्पसमा शुक्रबारबाट सुरु हुने ‘राप्ती बघौडा सोनारी धार्मिक महोत्सव’ को सम्पूर्ण तयारी पूरा भएको मुल आयोजक समितिले जनाएको छ ।
जन सिद्धेश्वर क्याम्पसमा स्नातक र स्नातकोत्तर कक्षा संचालनका लागि आर्थिक संकलन गर्न शुक्रबार माघ १५ गतेदेखि २२ गतेसम्म धार्मिक महोत्सव सञ्चालन हुन लागेको हो । उक्त महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएपनि अन्तिम समयमा आएर रद्द भएको छ ।
महोत्सवको पहिलो दिन शुक्रबार विहान १० बजेदेखि कलश यात्रा हुने भएको छ । महोत्सव स्थल जन सिद्धेश्वर क्याम्पसबाट सुरु हुने कलश यात्रा मुक्त कमैयाँ डाँडा, पनेरिया, सिधनवा, जोरैया हुँदै पुनः क्याम्पस प्राङ्गनमा पुगेर समापन हुने महोत्सव मुल समारोह समितिका अध्यक्ष लाल बहादुर थापाले जानकारी दिए ।
कलश यात्रामा ३ हजार २ सय कलश, स्थानीय भेषभुषा तथा संस्कृति झल्किने झाँकी, प्रहरीको ब्याण्ड बाजा, पाँच कन्या, शिवपार्वति, गणेश, महोत्सव मुल समारोह समितिका पदाधिकारी र सर्वसाधारणको सहभागिता रहने भएको छ ।
कलश यात्रापछि दिउँसो १२ बजे धार्मिक महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक समितिका महासचिव लोकमणी बटालाले बताए । उनले महोत्सवको सम्पूर्ण तयारी सँगै गोविन्द शरण महाराज लगायत अन्य गुरुहरु महोत्सव स्थलमा आइसकेको जानकारी दिए ।
महोत्सवमा आउने पाहुनाको स्वागतको लागि आयोजक समिति र फत्तेपुरका सामुदायिक बन, क्लव र संघसंस्थाले स्वागत द्वार निर्माण गरेका छन् । फत्तेपुरमा १४ र नेपालगन्ज तथा कम्दीमा एक÷एक वटा स्वागत द्वार निर्माण भएको बरिष्ठ उपाध्यक्ष ताराप्रसाद कसेराले जानकारी दिए । उनले महोत्सव सफल बनाउन स्थानीयले दिल खोलेर सहयोग गरेको बताए ।
महोत्सवमा २ सय ५० जना स्वयम् सेवक परिचालन गरिने भएको छ । जन सिद्धेश्वर बहुमुखी क्याम्पसका शिक्षक ओम प्रकाश चन्दको नेतृत्वमा ४ जना शिक्षिका र ३ जना शिक्षक स्वयम् सेवक परिचालनमा खटिने महोत्सव मुल समारोह समितिका सदस्य विष्णु बहादुर अधिकारीले बताए ।
आफ्नो गाविसमा स्नातक र स्नातकोत्तर कक्षा सञ्चालनका लागि महोत्सव हुने भएपछि स्थानीय दिनरात नभनी काममा खटिएका छन् । निरन्तर दुई महिनादेखि काममा खटिएको स्थानीय भक्तिराम पाण्डेले बताए । ‘यातायात, खाना, खाजा आफै ब्यहोरेर महोत्सवको काममा खटिएका छौँ,’ उनले भने, महोत्सवलाई फत्तेपुरको गौरवको रुपमा लिएका छौँ ।’
महोत्सव हुने अघिल्लो दिन नै फत्तेपुरका गल्ली, सडक र चोक बरालकुराल गरी सफासुग्घर पारिएको छ । भने, फत्तेपुरका सडक स्वागत द्वार, तुल र ब्यानरले झकिझकाउ पारिएका छन् ।
‘शिक्षाका लागि दान गरौँ, पुण्य कमाऔँ’ नाराका साथ एक हप्तासम्म चल्ने धार्मिक महोत्सवमामा दान गर्न २ हजार दानवीरलाई आग्रहसहितको पत्र पठाइएको समितिका अध्यक्ष थापाले बताए । ‘ठूला ठूला उद्योगी, ब्यापारी, राजनीतिक दलका नेता, सांसद, मन्त्री, पूर्व मन्त्री, कार्यालय प्रमुख, समाजसेवी लगायतलाई दान गर्न आग्रहसहित २ हजारजनालाई पत्र पठाएका छौँ,’ अध्यक्ष थापाले भने ।













प्रतिक्रिया