३० आश्विन २०८३, शुक्रबार

आफ्नो शक्ति देखाउन नेपाली चेली दिल्लीमा, भारतलाई हराएर धुलो चटाउने रणनीति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली हक्की टिम
नेपाली हक्की टिम

भीमदत्तनगर, १४ माघ । भारतमा हुन गइरहेको १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) मा पहिलो पटक नेपाली टोलीमा सुदूरपश्चिमका चेलीले सहभागिता जनाउँदैछन् ।

नेपालबाटै पहिलो पटक साग खेलकुदमा पहिलो पटक महिला हक्की टोली प्रतिस्पर्धामा उत्रँदैछ । सुदूरपश्चिमको कञ्चनपुरकी चेली तुलसी डगौँराको कप्तानीमा रहेको नेपाली हक्की टोलीमा सम्मिलित ११ जना महिला खेलाडी कञ्चनपुरका हुन् ।

“सुदूरपश्चिमबाट सबैभन्दा बढी खेलाडी नै पहिलो पटक सागमा हक्की खेलबाट सुरु गर्दैछन्,” जिल्ला खेलकुद विकास समितिका प्रमुख गोपालदत्त भट्टले भन्नुभयो, “नेपाल हक्की टोली सुदूरपश्चिम कै खेलाडीको भरोसामा छ भन्दा अन्यथा लाग्दैन ।” राष्ट्रियस्तरमै स्वर्ण पदक जितिसकेको कञ्चनपुरको पुरुष हक्की टोलीका वरिष्ठ खेलाडीले नै महिला खेलाडी गाउँगाउँबाट खोजेर तयार पारेका हुन् ।

“हक्कीमा यहाँबाट परेका सबै महिला खेलाडीहरु नयाँ अनुहार हुन्,” हक्कीका सिनियर खेलाडी कान्तुराम पनेरुले भन्नुभयो – “खेलाडीले राम्रै मिहेनत गर्नेमा आशावादी छौँ ।”

“नेपालमा टर्फ नभएकाले हामीलाई अबको १० दिन जति भारतमा टर्फमा अभ्यास गर्छौँ,” साग खेल्न टोलीसहित भारतको सिलीगुढी पुगेकी क्याप्टेन डगौँराले भन्नुभयो ।

कुल १८ जना हक्की टोलीका सदस्यमा ११ जना कञ्चनपुरका र बाँकी सात जना नेपाल आर्मी सम्बद्ध खेलाडी छन । स्थानीयस्तरमा हक्की प्रशिक्षक नरबहादुर चन्द र वरिष्ठ खेलाडी किशोरराज ओझा, कान्तुराम पनेरु, पदम चन्द, राजेन्द्र चन्द, देवेन्द्र सिंह थलाल र चन्द्र सिंह थलालले निकै मिहेनतका साथ महिला खेलाडी तयार गर्नुभएको हो ।

भीमदत्तनगरबाट क्याप्टेन डगौँराका साथै ज्योति मल्ल (गोलकिपर) बिमला भट्ट, तारा मल्ल, सीमा चौधरी, बिन्दु रावल, शिल्पा डगौँरा, अञ्चु डगौँरा, रेखा भट्ट, कमला चन्द र भागरथी विष्ट टोलीमा छन् ।

सागमा हक्की टोलीलाई प्रशिक्षक बाबुराम नेपाल र राजेन्द्र पाठकले निगरानी गरिरहनुभएको छ । हक्कीका साथै कञ्चनपुरबाट कबड्डीबाट दुई जना, खो–खोबाट दुई जना, कुस्तीबाट तीन जना गरी १८ जना साग खेलकुदमा परेका छन् ।

सुदूरपश्चिमबाट हरेक अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा विगतदेखि नै उत्साहजनक सहभागिता रहँदै आएको कबड्डीका वरिष्ठ प्रशिक्षक तारासिंह भाटले जानकारी दिनुभयो ।

उहाँका अनुसार साग, एसियन च्याम्पयनसीप, विश्वकपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा २०४५ सालयता सुदूरपश्चिमबाट ५८ जना खेलाडीले सहभागिता जनाइसकेको छन् । प्रतियोगिताको उद्घाटन यही माघ २२ गते भारतको गुवाहाटीमा हुँदैछ । रासस