
– भीष्मराज ओझा
काठमाडौँ, १४ माघ । नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनका लागि गाउँ, नगर वडा र नगर अधिवेशन मुलुकभर एकैसाथ शुक्रबार ठूलो उत्साहका साथ हुँदैछ ।
यही माघ १५ गते मुलुकभर सबै गाविसमा, नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाका वडाहरुमा एकैसाथ काँग्रेसको प्रारम्भिक तहको निर्वाचन हुँदैछ । यद्यपि, हिमपातले जनजीवन जटिल भएका हिमाली जिल्लाका केही गाविसमा भने आवश्यकतानुसार सहमतिमा अधिवेशन दुई/चार दिन पछाडि धकेलिने सक्ने पार्टी कार्यालयले जनाएको छ ।
यस अधिवेशनमा सबै गाविस र नगर वडाबाट करिब एक लाख ४७ हजार क्षेत्रीय प्रतिनिधि तथा स्थानीय समितिका पदाधिकारी÷सदस्य निर्वाचित हुने काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो ।
मुलुकमा २०५४ सालयता स्थानीय तहको निर्वाचन हुन नसकेको अवस्थामा हुन लागेको काँग्रेसको यस अधिवेशनले स्थानीय तहमा थोरै भए पनि प्रजातान्त्रिक अभ्यासमा जनसहभागिता बढाउने विश्वास लिइएको छ । समितिले निर्वाचनका लागि सबै तीन हजार १५७ गाविस, २१७ नगरपालिका, २४० निर्वाचन क्षेत्र र ७५ जिल्लामा निर्वाचन सामग्रीका साथै निर्वाचन अधिकृतसमेत पठाइसकेको उहाँले बताउनुभयो ।
यो अधिवेशन पार्टीको प्रारम्भिक तहको निर्वाचन भए पनि पार्टीको जिल्ला र केन्द्रको नेतृत्व चयनका लागि आवश्यक पर्ने महाधिवेशन प्रतिनिधि चयनमा महत्वपूर्ण मानिन्छ । यतिखेर काँग्रेसका नेता कार्यकर्ता निर्वाचनमा सहभागी हुन आफ्ना गाउँ÷नगर पुगेका छन् ।
पूर्वी तराईका केही जिल्लामा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट केही अवरोध हुने आशंका भए पनि अधिवेशनका कार्यक्रम तोकिएको मितिमा जुनसुकै हालतमा पनि सम्पन्न हुने ती क्षेत्रका जिल्ला सभापतिहरुले बताएका छन् ।
यस पटक सबै क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइटमा राखिएकाले अन्य महाधिवेशनका तुलनामा केही सहज भएको सचिव पराजुलीले जानकारी दिनुभयो । तर क्रियाशील सदस्यता फाराम भर्दा गाविस रहेका र हाल नगरपालिका कायम भएका केही स्थानमा भने ठेगाना परिवर्तन भई केही झण्झट भएको उहाँले बताउनुभयो । त्यस्ता त्रुटि सच्याउने अधिकार निर्वाचन समितिलाई दिइएको छ ।
काँग्रेसमा समयानुकूल विधान संशोधन गर्ने र सोहीअनुसार नै पार्टीको अधिवेशन गर्ने भनिए पनि स्थानीय तहको अधिवेशन हाल कायम विधानअनुसार हुने विधान संशोधन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । केन्द्रीय निर्वाचन भने परिमार्जित विधानअनुसार हुने बताइएको छ ।
काँग्रेसको हरेक नगरपालिकाको वडा तहमा, गाविसको गाविस तहमा, निर्वाचन क्षेत्र र जिल्ला तहमा अधिवेशन भई कार्यसमिति गठन हुन्छ । काँग्रेसको गाउँ, नगर वडा र नगर अधिवेशन यही माघ १५ गते हुँदैछ । कुनै नगर वडा र नगर अधिवेशन एकै दिन गर्न असुविधा भए नगर अधिवेशन माघ १६ गते गर्न सकिने निर्वाचन तालिकामा उल्लेख छ ।
त्यस्तै क्षेत्रीय अधिवेशन यही माघ २२ गते र जिल्ला अधिवेशन माघ २५ गते सम्पन्न गर्नुपर्ने निर्वाचन तालिका छ । केन्द्रीय महाधिवेशन भने आगामी फागुन २०, २१, २२ र २३ गते काठमाडौँमा हुनेछ । पार्टीको १३ औँँ महाधिवेशनका लागि स्वीकृत कुल क्रियाशील सदस्य सङ्ख्या चार लाख ७० हजार ६५५ कायम भएको छ । बा¥हौँ महाविधेशनमा तीन लाख १३ हजार ८३६ जना क्रियाशील सदस्य रहेका थिए ।
गाविसको अधिवेशनबाट गाउँ कार्य समिति र क्षेत्रीय प्रनितिधि चयन हुन्छन् भने नगरका वडा अधिवशेनबाट वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन हुन्छन् । नगर अधिवशेनमा भने त्यस नगरका सबै क्रियाशील सदस्यले मतदान गरी नगर कार्य समितिको चयन गर्ने विधानमा व्यवस्था छ ।
नगरका वडा र गाउँ अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिसहितले क्षेत्रीय कार्य समिति, जिल्ला कार्य समिति र महाधिवेशन प्रतिनिधिको चयन गर्छन् । महाधिवेशन प्रतिनिधिले महासमिति सदस्य र केन्द्रीय कार्य समितिको चयन गर्ने व्यवस्था विधानमा छ ।
काँग्रेसमा प्रत्येक चार वर्षमा अधिवेशन गर्नुपर्ने प्रावधान भए पनि विशेष कारणवश एक वर्ष थप गर्न सकिने विधानमा व्यवस्था छ । यसबाहेक नयाँ संविधानले राजनीतिक दलले प्रत्येक पाँच वर्षमा नयाँ निर्वाचन गर्नुपर्ने प्रावधानमा विशेष कारणवश छ महिना थप्न सकिने व्यवस्था गरेको छ । सोही अनुसार यो अधिवेशन झण्डै साढे पाँच वर्षपछि हुन लागेको हो । बा¥हौँ महाधिवशेन २०६७ साल भदौ १, २, ३, र ४ गते काठमाडौँमा भएको थियो । रासस












प्रतिक्रिया