काठमाडौं, १ साउन । व्यवस्थापनले माग पूरा नगरेको भन्दै बीमा समितिका कर्मचारीले साउन १ गतेदेखि समितिका सम्पूर्ण कामकाज ठप्प पारेका छन । तीन सातादेखि आन्दोलनरत ती कर्मचारीले विभन्न १३ बुँदे माग व्यवस्थापन समितिमा राख्दै आएका थिए ।
मागसम्बोधन नएपछि सम्पूर्ण कामकाज नै ठप्प पार्नु परेको बीमा समिति कर्मचारी संघले जानकारी दिएको छ ।
संघले कर्मचारी शर्त विनियमावली २०६८ मा भएको व्यवस्था लागू गर्नुपर्ने, बीमा ऐन २०४९ र बीमा नियमावली २०४९ ले परिमार्जन गर्नुपर्ने, समितिबाट न्यून प्रतिफल प्राप्त हुने गरी भएको लगानीको छानवीन गर्नुपर्ने, बीमकको स्थलगत र गैहृ्रस्थलगत निरिक्षणबाट प्राप्त प्रतिवेदनमा औंल्याएका कैफियतहरुमा सबैं बीमकहरुलाई समान रुपमा कार्यान्वयन गराउनु पर्ने जस्ता माग राखेका छन् ।
त्यसैगरी समितिले पारित गरेका वाषिर्क कार्यक्रमहरु पूर्णरुपमा कार्यान्वयन गराउनुपर्ने, सेवाग्राहीको नाम छिटो छरितो सम्पन्न गर्न कामको बाँडफाँडसहितको बडापत्र बनाई कार्यान्वयन गर्नुपर्ने जस्ता माग पनि उनीहरुका छन् ।
बीमा समिति कर्मचारी संघले अघिल्लो शुक्रबार पाँचौ चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । जसअन्तर्गत असार २९ गतेदेखि ३२ गतेसम्म बिहान १० बजेदेखि दिउसो २ बजेसम्म समितिका अध्यक्ष प्रा.डा. फत्तबहादुर केसीलाई शान्तिपूर्ण अवज्ञा गर्ने र साउन १ गतेदेखि माग पुरा नभएसम्म अध्यक्ष केसीको अवज्ञा र समितिका सम्पूर्ण कामकाज ठप्प पार्ने घोषणा गरेको थियो ।
संघले चौथो चरणको कार्यक्रम अन्तर्गत समितिका कुनैपनि कर्मचारीलाई सेमिनार, गोष्ठी तथा भ्रमण नगराउन र समितिका चारपांग्रे सवारीसाधन प्रयोग नगर्न व्यवस्थापनलाई पत्राचार गरेको थियो । समितिका कर्मचारी र व्यवस्थापनबीचको लडाईँले समितिको सेवाबाट सरोकारवालाहरु बञ्चित भएका छन् ।
















प्रतिक्रिया