
– सुदीप अधिकारी
बर्दिया, १३ माघ । जिल्लाको गुलरिया नगरपालिका वडा नं २ र ४ का ८७ मुक्तकमैया परिवारले चौध वर्षपछि बल्ल जग्गाधनी पुर्जा प्राप्त गरेका छन् ।
बुधबार गुलरिया नगरपालिका २ जैनपुरका ४२ र वडा नं ५ खैरीका ४५ मुक्तकमैयाले परिवारले जग्गाधनी पुर्जा पाएका हुन् । जैनपुरका मुक्तकमैयालाई प्रति परिवार २ कट्ठा र खैरीका मुक्तकमैयालाई १ कट्ठा ३ धुरका दरले उपलब्ध गराईएको जग्गाको पूर्जा भूमीसुधार तथा व्यवस्था राज्यमन्त्री बिक्रमबहादुर थापाले बुधबार एक समारोहमा हस्तान्तरण गरे ।
जैनपुर र खैरीमा मुक्तकमैयाहरु २०५८ सालदेखि बस्दै आएका थिए । बसोबास गर्दै आएको चौध वर्षपछि बल्ल जग्गाको पुर्जा पाउँदा त्यहाका मुक्त कमैयाहरु निकै खुशी भएका छन् । ‘वर्षौदेखि यहाँ बस्दै आएका थियौ । तर कतिखेर भाग्नु पर्ने हो ठेगान थिएन । अब पुर्जा पाइयो । बल्ल ढुक्क भयौ,’ मुक्तकमैया बस्तीकी जुगरी थारु खुशी ब्यक्त गर्दै भनिन् । दुई कट्ठा भएपनि जग्गा पाउँदा त्यहाका मुक्तकमैयाहरु खुशी छन् । पुर्जा वितरण गर्न आएको टालीलाई उनीहरुले नाचगानसहित भब्य स्वागत गरेका थिए ।
पुर्जा पाएपनि सरकारले घर बनाउन दिने भनेको काठ वापतको एक लाख रुपौँया नपाउँदा निकै समस्या भएको मुक्तकमैयाहरुले गुनासो गरेका छन् ।
भुमीसुधार कार्यालय बर्दियाका अनुसरा यहाँका ११ हजार ८ सय ५५ मुक्तकमैया मध्ये हालसम्म १० हजार ७ सय २० परिवारलाई जग्गाधनी पुर्जासहित पुर्नस्थापना गरि सकिएको छ । भने ४२ घर परिवारलाई तत्काल पुनर्स्थापना गर्ने तयारी भइरहेको छ । राज्यले जिल्लाका १ हजार १ सय १२ मुक्तकमैया परिवारलाई अझै पुर्नस्थापना गर्न सकेको छैन ।
सरकारले २०५७ सालमा बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरका कमैयाहरुलाई कमैया मुक्त घोषणा गरेको थियो ।












प्रतिक्रिया