काठमाडौं, १३ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई मधेस गरेको आन्दोलनले पाँच महिना पूरा गर्दैछ । मधेसी जनताको अधिकारका लागि भन्दै गरेको पाँच महिने आन्दोलनका क्रममा विभिन्न आरोह अबरोह आएका छन् ।
ती अवरोध र आलोचना खेप्दै यहाँसम्म आइपुगेको मधेसी मोर्चामा अहिले बिवाद भएका विषय दिनप्रति दिन बाहिर आउन थालेका छन् । बिवादकै कारण शीर्ष नेताहरुको बैठक नबसेको पनि बताउने गरिएको छ ।
यतिसम्मकी मधेसी मोर्चाको घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका महासचिव राजेन्द्र महतोबीच बोलचाल नै नभएका समाचार पनि बाहिरिएका छन् । मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठकमा आजकाल यादव र महतो नजाने गरेको पनि सुनिने गरेको छ ।
तर दुबै आरोपहरु ती दलका दोस्रो तहका नेताहरुले खण्डन गर्दै आएका छन् । जे होस् सीमानाकामा धर्ना बसेर नाकाबन्दी लगाएपछि आलोचित बनेको मधेसी मोर्चाभित्र सद्भावना र संघीय समाजवादी फोरमबीच खटपट भएको नेताहरुले नै स्वीकारेका छन् ।
सद्भावना पार्टीका महासचिव मनीष सुमनले दुबै शीर्ष नेताहरुमा बिवाद नरहेको बताए पनि आन्दोलनका कार्यक्रमलाई कसरी अगाडि बढाउने भन्ने विषयमा प्रतिस्पर्धा रहेको बताउनु हुन्छ ।
‘मधेसी मोर्चाको आन्दोलनलाई कसरी प्रभावकारी बनाउने र जनतामा कसरी लैजाने भन्ने विषयमा दुबै शीर्ष नेताहरुमा प्रतिस्पर्धा हुने गरेको छ’, सुमनले भन्नुभयो, ‘आन्दोलनलाई प्रभावकारी बनाउन भएका प्रतिस्पर्धालाई अन्यथा लिनु हुँदैन । मोर्चाभित्र त्यस्तो कुनै विवाद छैन ।’
मधेसी मोर्चा एक रहेको बताउनुभएका सद्भावना महासचिव सुमनले शीर्ष नेताहरु राजधानी जम्मा हुनेवित्तिकै ठोस निर्णय लिएर अगाडि बढ्ने बताउनुभयो ।
मधेसी मोर्चाले संयुक्त रुपमा माघ १८ गतेसम्मका लागि कार्यक्रम सार्वजनिक गरिसकेको छ । यो कार्यक्रमलाई संयुक्त रुपमा अगाडि बढाउने मधेसी मोर्चाको भनाइ छ ।












प्रतिक्रिया