
विराटनगर, १२ माघ । हाल अस्पतालमा उपचार तथा आराम गरिरहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस कब्जा गर्न नयाँ तयारी थालेका छन् ।
अस्पतालको विरामी बेडमा बसेरै उनले आन्दोलनको शक्तिबाट मधेस कब्जा गर्ने तयारी गरेका हुन् । यसैक्रममा महतोले तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्तासँग एकताका लागि पहल गरेका छन् । मंगलबार अस्पतालमै भेट्न बोलाएर मधेसमा रहेका सम्पूर्ण दलहरु एकजुट भई महागठबन्धन निर्माणबारे महतोले गुप्तासँग छलफल गरेका छन् ।
केही दिन अगाडि महतोको पार्टीले सरकारको घुडा टेकाउन मधेसका सबै शक्ति एकजुट भएर महागठबन्धन बनाउनुपर्ने प्रस्ता अधि सारेको थियो । यो प्रस्तावमा मधेसी मोर्चाका सबै नेता सकारात्मक छन् । बाहिर रहेका मधेसवादी दलका नेतालाई पनि समेट्ने तयारी अनुसार महतोले अस्पतालको बेडबाटै आफ्नो सक्रियता बढाएका हुन् ।
आजको भेटमा गुप्तासहितको चार दलको संघीय समावेशी मधेसी गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई एक बनाउने विषयमा छलफल भएको र महागठबन्धन बनाउन महतो सकारात्मक देखिएको गुप्ताले बताए । उनले भने- ‘१६४ दिन आन्दोलन गर्दा पनि सरकारले सुनेन । अब गठवन्धन बनाएर जानुपर्छ भन्नेमा उहाँ (महतो)लाई सकारात्मक पाएँ ।’
आफूहरुले यसअघि नै गठवन्धनको प्रस्ताव गरेको तर, मधेसी मोर्चाले अहंकार देखाएकाले सफल नभएको बताए । महागठन्धनका लागि मधेसी मोर्चामा पहल गर्न गुप्ताले महतोलाई आग्रह गरेका छन् ।
यसैबीच महागठबन्धन बनाउन महतोले मधेसका सबै नेतासँग सम्पर्क गरिसकेका छन् ।












प्रतिक्रिया