
महेन्द्रनगर (धनुषा), १२ माघ । मोरङको रङ्गेली घटनापछि बन्द भएका जनकपुर बजार, शिक्षण संस्था र सार्वजनिक यातायात आजदेखि पुनःसञ्चालनमा आएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र आन्दोलनरत अन्य सङ्घसङ्गठनबीचको छलफलले आज बन्द शैक्षिक संस्था पुनः सञ्चालन गर्न दिइने निर्णय गरेको मोर्चाका नेता एवम् तमलोपाका धनुषा जिल्ला अध्यक्ष परमेश्वर साहले बताउनुभयो ।
पाँच महिनादेखि जारी मधेस आन्दोलनका क्रममा विद्यार्थीको पठनपाठन निकै प्रभावित भएकाले मोर्चाका नेता तथा अन्य आन्दोलनरत सङ्घ सङ्गठनको सहमतिमा शैक्षिक संस्थान सञ्चालन गर्न दिने निर्णय भएको जनाइएको छ ।
यता ठप्प रहेका यातायातका साधन पनि आजदेखि पुनःसञ्चालनमा आएका छन् । जनकपुरअञ्चल बस व्यवसायी सङ्घका अध्यक्ष मनोजकुमार चौधरीले पाँच महिनाभन्दा बढीदेखिको मधेस आन्दोलनपछि गत बुधबारदेखि मात्र सञ्चालनमा आएका यातायातका साधन पनि रङ्गेली घटनापछि शुक्रबारदेखि ठप्प भएकामा आजदेखि चलेको बताउनुभयो ।
त्यसैगरी जनकपुर लगायत धनुषाका विभिन्न बजार निर्बाध रुपमा सञ्चालन भएका छन् । रासस












प्रतिक्रिया