१ कार्तिक २०८३, आइतबार

अनुगमनमा कडाइ गरेपछि व्यवसायीले यातायात भाडा घटाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

public-bus

बाबियाचौर (म्याग्दी), १२ माघ । स्थानीय प्रशासनले अनुगमनमा कडाइ गरेपछि म्याग्दीका यातायात व्यवसायीले भाडा समायोजन गर्ने निर्णय कार्यान्वयन गरेका छन् ।

इन्धन आपूर्ति र वितरण सहज बनेपछि गत बिहीबारदेखि लागू हुने गरी भाडा समायोजन गर्न सहमत भएका यातायात व्यवसायीले आफूखुसी भाडा असुलेका थिए । प्र्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको नेतृत्वमा आइतबार भएको अनुगमनपछि सोमबारदेखि व्यवसायीले भाडा समायोजन गर्ने निर्णय कार्यान्वयन गरेका हुन् ।

आइतबारसम्म बेनी–दरबाङ सडकमा प्रतियात्रु रु २५० भाडा लिएका व्यवसायीले सोमबारदेखि रु १७० कायम गरेका छन् । अनुगमनका क्रममा सवारी भाडादर समायोजन गर्ने निर्णय कार्यान्वयन नभएको पाइएपछि प्रमुख जिल्ला अधिकारी पाठकले व्यवसायीलाई निर्देशन दिनुभएको थियो ।

प्रहरी प्रशासनले अनुगमनमा कडाइ गर्दै यात्रुबाट तोकिएको भन्दा बढी लिएको भाडा फिर्ता गराएपछि व्यवसायी पछि हटेका हुन् । बढी भाडा लिने सवारी धनीलाई कारबाही पनि गरिएको छ । प्रहरीले बेनी–दरबाङ, बेनी–जोमसोमसँगै अन्य ग्रामीण सडकमा पनि भाडादर कार्यान्वयनको विषयमा चेक र अनुगमनमा कडाइ गरेको छ ।

यातायात व्यवसायी भने भाडादर समायोजन गर्ने निर्णय कार्यान्वयन गरे पनि प्रशासन र पम्पबाट डिजेल नपाएको भन्दै आक्रोशित बनेका छन् । पम्पबाट नियमित रुपमा भाडाका गाडीलाई इन्धनको व्यवस्था गर्नुपर्ने माग म्याग्दी जिप तथा बस सञ्चालक समितिका उपाध्यक्ष मोहन केसीले गर्नुभयो । रासस