
– सन्तोष कुमार
सिरहा, १२ माघ । सिरहाको लहान नपा ३ स्थित सप्तऋषि अस्पतालका संचालक डा पशुपति चौधरीलाई अपहरण गर्न खोज्ने भुमिगत समूूहका एक यूवकलाई सिरहा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा लहान नपा ८ का ३५ बर्षिय विजय पासवान रहेका छन् । जयकृष्ण गोइत संयोजक भएको जनतान्त्रिक तराई मुक्ति मोर्चासँग पासवान आवद्ध रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार पासवानसहितका एक समूहले यहि माघ ९ गते राति डा. चौधरीलाई अस्पताल अगाडीबाटै अपहरण गर्ने प्रयास गरेका थिए । पासवानले फोन मार्फत समेत डा. चौधरीसँग पटक पटक भूमिगत समूहको नाममा चन्दा माग्ने गरेको र नदिएपछि अपहरण गर्न खोजेको थियो ।
‘अपहरणको प्रयास असफल भएपछि माघ १० गते डा. चौधरीले अपहरण गर्न खोजेका व्यक्तिहरुको हुलियासहित हामीलाई घटनाबारे जानकारी गराए,’ प्रहरी उपरीक्षक ज्ञवालीले भने, ‘हुलिया अनुसार हामीले अपराधीलाई खोज्ने क्रममा पासवानलाई माघ १० गते नै पक्राउ गर्न सफल भयौं ।’
उक्त घटनामा केही संलग्न व्यक्तिहरु फरार रहेको जानकारी गराउनुुहुँदै प्रहरी उपरीक्षक ज्ञवालीले बाँकी अपराधी पनि चाँडै पक्राउ पर्ने दावी गरे । उनले पक्राउ परेका पासवानमाथि अपहरण तथा शरिर बन्धक अन्तर्गत मुद्दा चलाएको पनि बताए ।












प्रतिक्रिया