३० आश्विन २०८३, शुक्रबार

विश्वकपको अभ्यास खेलमा नेपाल पराजित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

– दीपेन्द्र सापकोटा
काठमाडौँ, ११ माघ । बङ्गलादेशमा सुरु हुन लागेको उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि भएको अभ्यास खेलमा नेपाल पराजित भएको छ ।

बङ्गलादेशको साभरस्थित क्रिकेट मैदानमा आज भएको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली टेस्ट राष्ट्र श्रीलङ्काको यु–१९ टोलीसँग ६५ रनले हारेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्कालेृ निर्धारित ४५ ओभरको खेलमा ९ विकेटको क्षतिमा २३० रन जोड्यो । जवाफी ब्याटिङमा आएको नेपालले ४२.१ ओभरमा सबै विकेट गुमाएर १६५ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ३३, कप्तान राजु रिजालले ३१, ओपनर सुनिल धमलाले २६ र हिमांशु दत्तले २१ रन बनाए भने अन्य खेलाडीले राम्रो स्कोरको रन बनाउन सकेनन् । त्यस्तै नेपालका सुनिल, सन्दीप लामिछाने र सुशील कँडेलले २/२ तथा दीपेन्द्रले १ विकेट लिएका थिए ।

अभ्यास खेलअन्तर्गत नै आफ्नो पहिलो खेलमा नेपाल अर्को टेस्ट राष्ट्र पाकिस्तानसँग ११० रनले पराजित भएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) यु–१९ विश्वकपको समूह चरणमा नेपाल समूह ‘डी’ मा रहेको छ । सो समूहमा भारत, आयरल्यान्ड र न्युजिल्यान्ड पनि छन् । प्रतियोगिताअन्तर्गत नेपालले पहिलो खेल यही माघ १४ मा न्युजिल्यान्डसँग, माघ १६ मा आयरल्यान्ड र माघ १८ मा भारतसँग खेल्नेछ ।

बोनम्यारो पीडितलाई सहयोग

करातेका पूर्वखेलाडी आरके श्रेष्ठ पहरीको पहलमा बोनम्यारो पीडित सिर्जना गोलेले उपचार खर्चका लागि आर्थिक सहयोग पाउनुभएको छ । सितोरियो करातेका यी पूर्वखेलाडीको पहलमा उठेको रु ६८ हजार ८५० दोलाखाकी २४ वर्षीया गोलेलाई सहगोग गरिएको हो ।

पहरी हाल दक्षिण कोरियामा रहेकाले उहाँकी धर्मपत्नी शारदा प्रजापतिले पीडित गोलेलाई आज बानेश्वरस्थित नागरिक अस्पतालमा पुगेर सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

यसअघि पहरीले भूकम्पपीडितलाई सहयोग गर्नाका साथै एसियन किक बक्सिङमा स्वर्ण पदक विजेता सन्तोष खड्कालाई नगदसहित सम्मान गर्नुभएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

ललितपुर जुडो सङ्घमा प्रधान
ललितपुर जिल्ला जुडो सङ्घका अध्यक्षमा मृगेन्द्रमान प्रधान निर्विरोध चयन हुनुभएको छ । सङ्घको आज बसेको चौथो साधारणसभाले प्रधानको अध्यक्षतामा १२ सदस्यीय जिल्ला कार्यसमिति समेत निर्विरोध चयन गरेको छ ।

सङ्घका दुई उपाध्यक्षमा सुरेशकुमार कार्की र विकासमान प्रधान, सचिवमा राजेश श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्र महर्जन तथा सदस्यमा कृष्णगोपाल महर्जन, टेकरत्न वज्राचार्य, जीवन महर्जन, देवकी खड्का, विनोद महर्जन, एलेन महर्जन र कमला डङ्गोल चयन हुनुभएको छ । रासस