– आदित्य दाहाल
मेलम्ची, ११ माघ । नेपाल विद्युत् प्राधिकरण, सिन्धुपाल्चोक, मेलम्ची वितरण केन्द्रले बिनाजानकारी दिउँसो ४ बजेदेखि छ घन्टा र राति ४ बजेदेखि पाँच घन्टा विद्युत् कटौती गर्न थालेको छ ।
विद्युत्भार कटौती नगर्ने सहमति लत्याउँदै बिनाजानकारी बिनातालिका विद्युत् कटौती गरेकामा स्थानीयवासी आक्रोशित भएका छन् ।
दिउँसोको समयमा छ घन्टासम्म विद्युत् कटौती हुँदा उद्योगधन्दा तथा कार्यालय सञ्चालनमा बाधा परेको उपभोक्ताको गुनासो छ । कहिले प्राविधिक समस्या त कहिले अन्य ठाउँबाट नै बत्ती कटौती गरेको हो भनी उत्तर दिने गरेको बताउँदै मेलम्ची नगरपालिकाका स्थानीयवासी रुद्रप्रसाद दुलालले अघोषित रुपमा बत्ती कटौती गरेर प्राधिकरणले विगतका सम्झौता लत्याएको बताउनुभयो ।
विसं २०६६ मा गठन भएको विद्युत्भार कटौतीमुक्त आन्दोलन समितिका सदस्यसमेत रहनुभएका दुलालले ०६६ सालमा बेलुका ११ देखि बिहान ४ बजेसम्म मात्र विद्युत् कटौती गर्ने र अरु बेला जुनसुकै समयमा पनि विद्युत् दिने सम्झौता भएको बताउनुभयो ।
आफ्नो क्षेत्रमा विद्युत् उत्पादन गर्दा पनि यहाँका स्थानीयवासी अन्धकारमा बस्नुपर्ने यो जस्तो ठूलो पीडा अरु के हुन सक्छ ? नेपाली काँग्रेसका नेता एवम् मेलम्ची नगरपालिकाका नगर सभापति आइतमान तामाङले बताउनुभयो ।
प्राधिकरण र हाइड्रोपावरले बिनाजानकारी विद्युत् कटौती गर्दै सर्वसाधारणलाई ठूलो दुःख दिएको भन्दै विगतको सम्झौता लत्याउँदै मनपरी गर्ने हो भने सर्वसाधारणले जुनसुकै समयमा प्राधिकरणविरुद्ध उत्रने तामाङले चेतावनीसमेत दिनुभएको छ ।
तामाङले कि त जानकारीअनुसार तालिका प्रकाशित गरेर मात्र केही समय विद्युत् कटौती गर्नुपर्छ होइन भने आफ्नो इच्छाअनुसार विद्युत् कटौती गर्न नमिल्ने बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणले यस विषयमा कुनै सूचना दिन नमानेकोमा स्थानीयवासी पत्रकार देवराज सुवेदीले आपत्ति जनाउनुभएको छ ।
मेलम्ची नगरपालिका–१२ का कृषक टोमशङ्कर दुलाल भन्नुहुन्छ –“प्राधिकरणले जथाभावी विद्युत् कटौती गर्न थालेपछि हामी भूकम्पपीडितलाई ठूलो समस्या परेको बताउँदै अब के खाने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।”
उहाँ भन्नुहुन्छ –“विद्युत् नभएपछि विद्युतीय मिलमा धान, मकैलगायतका खाद्यान्न पनि तयार हुन सक्दैन, केही बाँकी भएका पानीघट्ट भूकम्पले ध्वस्त भएकाले अब झन् समस्यामा पर्नेमा चिन्तित भएको दुःखेसो पोख्नुहुन्छ ।
यता विद्युत् प्राधिकरण हेलम्बु मेलम्ची वितरण केन्द्रले भने केन्द्रबाट नै विद्युत्भार कटौती गर्न दबाब दिएको र केही दिनमा विद्युत्भार कटौती तालिका प्रकाशित गर्ने जनाएको छ । रासस















प्रतिक्रिया