२३ कार्तिक २०८३, सोमबार

युवा संघ अध्यक्ष भन्छन्- मधेस कसैको विर्ता होइन्, अब कसैलाई बाँकी राख्दैनौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajib-Pahadi

पोखरा, ११ माघ । युवा संघ नेपालले संघद्वारा मधेशमा जारी अभियान सामाजिक सद्भाव र एकताका लागि भएको जनाएको छ ।

युवा संघ नेपाल गण्डकी अञ्चल कमिटिद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा संघका अध्यक्ष राजिव पहारीले नयाँ संविधानका उपलब्धिबारे जानकारी गराउने र संविधानका सम्बन्धमा व्याप्त भ्रमहरू हटाउँदै समग्र राष्ट्रको एकता र सद्भावका लागि अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

अभियान कसैको प्रतिरोधका लागि नभएको स्पष्ट पार्दै अध्यक्ष पहारीले भन्नुभयो- ‘अभियानले राष्ट्रलाई जटिलताबाट पार लगाउन महत्वपूर्ण सहयोग पुर्याउँछ र मधेसमा सचेतना अभिबृद्धिका लागि यो उपयोगी बन्दछ ।’

संघले मधेशमा जागरण अभियान अन्तर्गत निरन्तर कार्यक्रम गर्दै आएकोमा रङ्गेलीको कार्यक्रम पनि पूर्ववत् रुपमा तय भएको गरिएको उहाँको भनाइ छ ।

रङ्गेलीमा शान्तिपूर्ण कार्यक्रमलाई विथोल्न प्रयास गरिए पश्चात भएको घटना दुखःद भएको उल्लेख गर्दै उहाँले कार्यक्रम गर्न सर्वदलीय सहमति समेत भैसकेका अवस्थामा शान्तिपूर्ण कार्यक्रमलाई अनाहकमा विथोल्ने प्रयास भएको बताउनुभयो ।

मधेसमा अरुलाई निषेध गर्ने व्यवहार प्रदर्शन गरेर मधेसी मोर्चाले लोकतन्त्रको उपहास गरेको आरोप लगाउँदै उहाँले भन्नुभयो– ‘रंगेली घटना त्यसकै नतिजा हो । हामी चाहन्छौं त्यसको न्यायिक छानबिन होस् ।’

गत बिहीबार युवा संघले गरेको सभामा झडप हुँदा मोरङको रंगेलीमा ३ जनाको मृत्यु भएको थियो । घटना छानबिनका लागि स्थानीय प्रशासनको सक्रियतामा मोरङमा उक्त क्षेत्रका सांसद शिवकुमार मण्डलको संयोजकत्वमा छानविन समिति पनि गठन भइसकेको छ ।

उहाँले अब कसैले मधेसमा कार्यक्रम नै गर्न नपाउने हो ? भन्ने प्रश्न गर्दै भन्नुभयो- मधेस कसैको बिर्ता होइन्, हामी मधेसमा कार्यक्रम गर्न छाड्दैनौ । अब सप्तरी र सिरहामा कार्यक्रम गर्छौ ।’

मधेश समस्याको समाधानका साथै देशमा व्याप्त कालोबजारी, अनियमितताका सम्बन्धमा संघले सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष पहारीले बताउनुभयो ।

कार्यक्रममा संघका अञ्चल अध्यक्ष नवराज ओझा, उपाध्यक्ष महेन्द्र गुरुङ र कोषध्यक्ष थमनारायण ढकाल लगायतले सामाजिक र सद्भाव र एकताका लागि मधेशमा संघले सञ्चालन गरेको अभियानले संविधानका सम्बन्धमा पारिएका भ्रम चिर्दै दलहरूबीचको सम्वाद र समस्याको समाधानमा सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।