भक्तपुर, १० माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले व्यवस्थापिका–संसद्ले शनिबार पारित गरेको संविधान संशोधनलाई सुगौली सन्धिको नयाँ संस्करणको सङ्ज्ञा दिनु भएको छ ।
आज भक्तपुरको दत्तात्रयमा पार्टीको ४२औँ स्थापना दिवसको अवसरमा आयोजित जनसभामा उहाँले खुला सिमाना र भारतबाट नेपाली नागरिकता लिने प्रवृत्ति नियन्त्रण नगरी गरिएको संविधान संशोधनले भारतीय हस्तक्षेप अझै बढ्ने आशंका व्यक्त गर्नुभयो ।
बिजुक्छेले भन्नुभयो, “भारतको दबाबमा भएको संविधान संशोधनले नेपाललाई फाइदा पुग्दैन, विगतको सुगौली सन्धिमा हारेका थियौँ, अहिले पनि त्यस्तै अवस्था आउँदैछ ।”
सीमापारबाट नेपाली नागरिकता लिने क्रम नरोकी जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्दा मधेसमा थप भारतीयले नागरिकता लिएर जनसङ्ख्या थप्दै जानसक्ने खतरा बढ्दै गएको उहाँको भनाइ थियो ।
बिजुक्छेले भन्नुभयो, “डिभी, पिआर लिने कर्मचारीलाई कारबाही गरेजस्तै अब सरकारले भारतको तलब खाएर नेपालको हितविरुद्ध काम गर्ने कर्मचारीको पनि खोजबिन गरी कारबाही गर्नुपर्छ ।”
वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले देश र जनताको हितविपरीत सन्धि सम्झौता नगर्ने नेमकिपासँग प्रतिबद्धता जनाएपनि त्यसअनुसार काम गर्न नसकेको उहाँले टिप्पणी गर्नुभयो ।
सन् २०१७ सालसम्म आयल निगमलाई सबै अधिकार दिँदा भारत बाहेकका देशबाट इन्धन आयात गर्न नसकेको बताउँदै उहाँले वर्तमान सरकारले आयल निगमको एकाधिकार तोड्नुपर्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका सांसद प्रेम सुवाल, केन्द्रीय सदस्य एवम् सांसद अनुराधा थापामगर, केन्द्रीय सदस्य रवीन्द्र जाख्वा, नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घका अध्यक्ष सुरेन्द्रराज गोसार्इं, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष निरज लवजू, नेमकिपाका जिल्ला अध्यक्ष रमेश थापाश्रेष्ठ लगायतले भारतीय अतिवादको विरोध गर्नुपर्ने बताउनुभयो । रासस












प्रतिक्रिया