२३ कार्तिक २०८३, सोमबार

युवा संघको चेतावनीका बावजूद महतो मोरङको रंगेली र डायनियां जांदै, भीडन्तको सम्भावना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra Mahato & Upendra Mahato

काठमाडौं, ९ माघ । एमाले निकट युवा संघले दिएको चेतावनीका बावजूद सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आज रंगेली र डायनियां तिर लाग्दै छन् ।

रंगेलीमा भएको हिंसात्मक झडप महतोकै ‘ग्राण्ड डिजाइन’मा भएको र आफ्ना एक दर्जन भन्दा बढी कार्यकर्तालाई महतोकै निर्देशनमा मोर्चाका कार्यकर्ताहरूले निर्ममतापूर्वक कुटपीट गरेको आरोप लगाउँदै युवा संघले महतोलाई बिराटनगर छिर्न नदिने र उनीविरूद्ध कारवाही गर्ने चेतावनी दिएको थियो ।

युवा संघको चुनौतीलाई नजरअन्दाज गर्दै महतो आज बिराटनगर हुंदै रंगेली र डायनियां जाने कार्यक्रम रहेको उनका पार्टीका मोरङका नेता दिलीप धाडेवाले जानकारी गराएका छन् । रंगेलीमा प्रहरीसंग भएको झडपका क्रममा तीन जनाको ज्यान गएको थियो । त्यहाँ ज्यान गुमाएका परिवारलाई भेट्न महतो रंगेली र डायनियां जाने उनको पार्टीले जनाएको छ । धरानमा उपचार गराई रहेका सदभावना पार्टीका प्रवक्ता सन्तोष मेहताले युवासंघको विरोधका बावजुद आफ्ना पार्टीका अध्यक्षलाई विराटनगरमा रहेका घाईते र शहीद परिवारलाई भेट्न रंगेली जान लागेको बताए ।

उता, युवा संघ मोरङका चर्चित नेता परशुराम बस्नेतले मोरङ जिलामै महतोको प्रवेश निषेध गराउने तयारी गरेका छन् । आफ्नो संगठनको कार्यक्रम बिथोल्ने र कार्यकर्तामाथि संघातिक आक्रमणको निर्देशन दिने राजेन्द्र महतोलाई कुनै हालतमा रंगेली, डायनियां र बिराटनगर आउन नदिने बताएका छन् । बस्नेतले भने– ‘अहिले मोरङको अवस्था तनावग्रस्त छ । महतोले आएर माहौल अझै बिग्रिने र साम्प्रदायिक सौहार्द बिग्रिने सम्भावना रहेकोले महतोलाई मोरङमा प्रतिबन्ध गर्ने निर्णय गरेका हौं । यदि उनी जबरजस्ती आउन खोजे प्रतिकार गर्छाै ।

युवा संघका केन्द्रीय अध्यक्ष राजीव पहारीले हिजो काठमाडौंमा पत्रकार सम्मेलन गरेर नै रंगेली घटनाका प्रमुख योजनाकार राजेन्द्र महतो रहेको र उनीविरूद्ध कारवाही गर्ने घोषणा गरेका थिए । पहारीले महतोकै निर्देशनमा युवा संघका एक दर्जन भन्दा बढी कार्यकर्तालाई मरणासन्न हुने गरि कुटपीट गरिएको आरोप लगाएका थिए । उनले मधेशी मोर्चाले युवा संघको एक महिना पहिले घोषित कार्यक्रम बिथोल्न बन्दको घोषणा गरेको र कार्यक्रम हुँदा समेत मोर्चाका कार्यकर्ताहरूले घरेलु हतियार र पेट्रोल बमले कार्यक्रममा सहभागी हुन आएकाहरू माथि हमला गरेको बताएका थिए ।

युवा संघको चेतावनीका बावजुद महतो आउन लागेको खबरले प्रहरी प्रशासनका लागि टाउको दुखाई भएको छ । अहिले मोरङ जिल्लाको सुरक्षा समितिको बैठक बोलाईएको छ । बैठकमा महतोको आगमनलाई रोक्ने, आवश्यक परे नियन्त्रणमा लिने र प्रशासनद्वारा रंगेलीमा लगाईएको कर्फ्यू उल्लंघन गरे पक्राउ गर्ने सम्म तयारी गरेको स्रोतले जनाएको छ ।

मोरङका प्रहरी प्रमुख एसपी तारिणी लम्सालले आफूहरू सतर्क रहेको र कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा बललाई उच्च सतर्कता अपनाउने निर्देशन दिएको बताए ।