काठमाडौं, ९ माघ । नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुङ्गानाले संविधान संशोधन प्रस्तावमा आफूहरुले भनेअनुसार पारित गर्न एमालेले सहयोग नगरेर प्रधानमन्त्री केपी ओली निकास निकाल्न नचाहेको आरोप लाग्ने बताउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता ढुङ्गानाले कांग्रेसले संशोधनमा राखेको पूरक संशोधनलाई पनि पारित गर्नुपर्ने बताउनुभयो ।
‘कांग्रेस सरकारको पालामा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई पारित गर्न एमाले र एमाओवादीले सहयोग गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘समस्या समाधानका लागि पूरक संशोधन लगिएको हो । मधेसी मोर्चालाई फकाउन पनि यो पूरक संशोधन हो । एमाले र एमाओवादीले जसरी पनि अनुमोदन गर्नुपर्छ ।’
एमलेले कांग्रेसले भनेअनुसार दर्ता गराएको संशोधन प्रस्तावलाई जस्ताको तस्तै ओली सरकारले विधेयक अगाडि बढाएको छ ।
तर कांग्रेसले आफैले चाहेअनुसार दर्ता गराएको संशोधन पनि पूरक संशोधन दर्ता गराएर बखेडा उत्पन्न गराइरहेको एमालेको आरोप छ ।
पूरक संशोधनसहित संविधान संशोधन भएमा जनसंख्याका आधारमा मात्रै निर्वाचन क्षेत्र हुने छन् । यसले गर्दा कम जनसंख्या रहेका पहाडी जिल्लाहरुमा जनप्रतिनिधि अर्थात सांसदको उपस्थिति न्यूनसरह हुने छन् ।
जसले गर्दा पहाडी जिल्लामा विकासका साथै अन्य क्षेत्रमा ठूलो नकारात्मक प्रभाव पर्ने छ । मधेसीमा भने सांसदहरुको संख्या धेरै हुने छन् ।












प्रतिक्रिया