
– शिवलाल सुबेदी
गुल्मी, ७ माघ । गुल्मीको हाडहाडे गाविसमा सौतेनी आमाले दुई छोराको हत्या गरेकी छिन् ।
हाडहाडे गाविस ९ निवासी नरेन्द्र पुनकी श्रीमतीले सौतेनीका २ छोरा ७ बर्षिय आशिष पुन र ५ बर्षिय मनिष पुनको बुधबार बिहान हत्या गरेकी हुन । बुधवार बिहान करेन्ट लागेर बालकहरुको मृत्यु भएको भनेर प्रहरीलाई खबर गरेपनि घटनास्थल पुगेको प्रहरीले घटनाको प्रकृती हेर्दा बालकहरुको हत्या भएको आशंका गरि सौतेनी आमा शान्ता पुनलाई नियन्त्रणमा लिएर छानविन शुरु गरेको थियो ।
जिल्ला प्रहरी कार्यलय गुल्मीको नियन्त्रणमा भएकी शान्तासँग प्रहरीले छानविन गर्दा आफूले दुबै छोराको हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख डीएसपी रबिन्द्र रेग्मीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार शान्ताले एक बालकलाई बिष खुवाएर र अर्कोलाई घाटी च्यापेर हत्या गरेकी हुन । बुधबार बिहान इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रमुख प्रहरी निरीक्षक जुगेश्वर राउतको नेतृत्वमा गएको प्रहरी टोलीले घटनास्थलको अवलोकन गर्दा शकास्पद भएकाले मृतक बालककी सौतेनी आमा शान्तालाई नियन्त्रणमा लिएको थियो ।
मृतक बालकहरुकी आमाले अर्कैसँग बिहे गरेपछि नरेन्द्र पुनले शान्तालाई बिहे गरेका थिए । नरेन्द्र अहिले रोजगारीको शिलशिलामा भारतमा रहेका छन् ।
बालकहरुको हत्या गर्ने सौतेनी आमालाई सार्वजनिक गर्न तथा घटनाको बारेमा अन्य जानकारी गराउन जिल्ला प्रहरी कार्यालय गुल्मीले शुक्रवार बिहान पत्रकार सम्मेलनको आयोजना गरेको छ ।












प्रतिक्रिया