काठमाडौं, ७ माघ । कांग्रेसका सांसदहरूले कृष्णप्रसाद भट्टराईको नाम हटाएर बनाइएको आमसञ्चार राष्ट्रिय प्रतिष्ठानको नाम परिवर्तन गरेकोमा सरकारको आलोचना गरेका छन् ।
संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका सांसदहरूले ‘कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रतिष्ठान’को नाम परिवर्तन गरेर अघिल्लो सरकारको निर्णय उल्टाउने कार्य उचित नरहेको बताए । उनीहरूले सरकारको यस्ता गलत निर्णयले उचित नहुने बताए ।
कांग्रेसका सांसद रामकृष्ण यादवले नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णप्रसाद भट्टराईको नाममा रहेको सञ्चार प्रतिष्ठानको नामलाई राख्न माग गर्नुभयो ।
‘अघिल्लो सरकारले गरेको निर्णय उल्टाउने निर्णयले राम्रो हुँदैन’, उहाँले भन्नुभयो, ‘राष्ट्रि आमसञ्चार प्रतिष्ठान बनाउने निर्णय गलत हो । अप्रजातान्त्रिक हो । लोकतन्त्रमा सरकार परिवर्तन भइरहन्छ । एउटा सरकारले गरेको निर्णयलाई अर्कोले उल्टाउने कार्य भयो भने एउटा पनि विकासका काम हुँदैन ।’
कांग्रेसकी सांसद अनिता देवकोटाले पनि कृष्णप्रसाद भट्टराईको नाम हटाएर सरकारले गलत गरेको बताउनुभयो । ‘पूर्वप्रधानमन्त्री एवम् प्रजातान्त्रिक आन्दोलनका नेता कृष्णप्रसाद भट्टराईको नाममा रहेको प्रतिष्ठानको नाम परिवर्तन गर्नु अप्रजातान्त्रिक हो ।’
त्यसै गरी सांसदहरूले भारतको नाकाबन्दीले इन्धनको संकट हुँदा पनि सरकारले सहज रुपमा उपलब्ध गराउनेतर्फ कुनै चासो नदेखाएको भन्दै आलोचना गरे । उनीहरूले तेल र खाना पकाउने ग्यास सहज रुपमा सर्वसाधारण जनतालाई उपलब्ध गराउन माग गरे ।
संसदले व्यवस्थापिका संसद नियमावली मस्यौदा समितिको कार्यविधि सम्बन्धी समितिको समयावधि थप गरेको छ । समितिले थप १५ दिनको समय पाएको छ ।












प्रतिक्रिया