
नेदरल्याण्ड्स, ६ माघ । नेदरल्याण्ड्सको युत्रेक शहरमा सम्पन्न पर्यटन मेलामा नेपालको पर्यटन सम्बन्धमा विशेष प्रस्तुति भएको छ ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड, सिवीआर्इ र अन्य संघसंस्थाहरुले सहभागिता जनाएका छन् । नेपालमा गएको विनाशकारी भूकम्प पश्चात पर्यटन क्षेत्रलाई पुर्नस्थापना गर्नका लागि उक्त विशाल कार्यक्रममा नेपाल सम्बन्धी विशेष जानकारी, सूचना, वृतचित्रहरु प्रदर्शन गरिएको छ ।
युरोपमा नै ठूलो मानिने पर्यटन मेलामा नेपालको भाषा, संस्कृतिक तथा भेषभुषाको प्रदर्शन गरिएको थियो । कार्यक्रममा नेपालले एक स्टल लिएर नेदरल्याण्ड्स लगायत युरोपेली नागरिकहरुलाई नेपाल भम्रण गर्न र सुरक्षित रहेको तथा मुख्य पर्यटकीय क्षेत्रहरुको बारेमा मनग्य जानकारीहरु दिइएको थियो ।
जनवरी १२ देखि १७ सम्म ६ दिन चलेको कार्यक्रममा विभिन्न सत्रहरुमा नेपाललाई माया गर्ने र नेपाल पटक पटक गएका डच नागरिकहरुले नेपाल सम्बन्धमा प्रस्तुतीकरण दिएका थिए ।
१४ जनवरीमा प्रसिद्ध फोटोग्राफर विम भान पासेलले रिच एक्पेरियन्स विथ डिप इम्प्रेसन भन्दै नेपाल प्रवद्र्धन सम्बन्धमा प्रस्तुतिकरण गरेका थिए । त्यस्तै १५ र १७ जनवरीमा डच नागरिक मार्टिन ओलथोपले एन इन्क्रेडिवल कन्ट्री –राइट नाउ योर जोर्नी मेक्स दि डिफरेन्स विषयमा उक्त कार्यक्रममा प्रस्तुतीकरण साथै नेपाली नृत्य आयोजना भएको थियो ।
साथै जनवरी १६ मा नेदरल्याण्ड्सको चंगा ब्यान्ड तथा स्थानिय नेपाली कलाकारहरुले नृत्य तथा गायनमार्फत नेपाली सांस्कृतिक कार्यक्रमको प्रस्तुत गरेका थिए ।
प्रत्येक वर्ष चल्ने उक्त पर्यटन मेलामा करिब एक लाख २० हजार दर्शक सहभागी भएको जनाइएको छ । कार्यक्रममा उपस्थित भएर धेरै युरोपियन नागरिकहरुले नेपाल जान इच्छुक रहेको बताएका छन् । वेनेलक्सको सवैभन्दा ठूलो पर्यटन मेलाको उद्घाटन सत्रमा बोल्दै नेदरल्याण्ड्सको पर्यटन क्षेत्रका विशेष व्यक्तित्व फ्लोर्चे डेसिङले नेपालको पर्यटकीय स्थलहरूको प्रशंसा गर्दै सबैलार्इ नेपाल भ्रमण गर्न आग्रह गरेकी थिइन् ।
साथै नेदरल्याण्डस्को राष्ट्रिय स्तरको प्रमुख टेलिभिजन प्रशारणमा समेत अन्तरवार्ता दिदै नेपालको पर्यटनको बारेमा समेत प्रवद्र्धन गरिएको थियो । कार्यक्रम अत्यन्तै प्रभावकारी भएको र विनासकारी भूकम्प पश्चात युरोपेली पर्यटकको संख्यामा आएको कमिलाई बढाउन सहयोग पुग्ने विश्वास रहेको कार्यक्रमलाई नेपालीकोतर्फबाट सहयोग गरेका नेपाल पर्यटन बोर्डका अनररी प्रतिनिधी शशि पौडेलले बताए ।
उक्त पर्यटन मेलामा नेपाल पर्यटन बोर्डकातर्फबाट प्रदिप बस्नेत र सन्तोष घिमिरेले सहभागिता जनाएका थिए ।
















प्रतिक्रिया