काठमाडौं, ६ माघ । प्रधानमन्त्री केपी ओलीले प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरूको बैठक बोलाउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ३ बजेपछि बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, मधेसी मोर्चासँगको माग र अन्य विविध विषयमा छलफल हुने बुझिएको छ ।
स्रोतका अनुसार मधेसी मोर्चाले सीमाङ्कनमा राखेको माग र नागरिकता तथा नेपाली सेनामा सामूहिक प्रवेशको विषयमा पनि गम्भीर छलफल हुनेछ ।
प्रमुख तीन दलको वार्तामा तराई मधेसमा दुई प्रदेश लागि राखेको मधेसी मोर्चाको मागलाई कसरी पूरा गर्ने भन्ने विषयमा विकल्पमा पनि छलफल हुनेछ ।
माघ ९ गतेसम्म वार्ता र सम्वाद गरेर मधेसी मोर्चासँग सहमति खोज्ने तयारी गरेका प्रमुख तीन दलले मधेसी मोर्चाका नेताहरूसाँ आजै अनौपचारिक परामर्श गर्ने जनाइएको छ ।
कार्यदलस्तरीय वार्ता बहिष्कार गरेको मधेसी मोर्चाले आजको वार्ता शीर्ष तहमा गर्नुपर्ने जनाएको छ । सीमाङ्कनमा तराई मधेसमा दुई प्रदेशको माग राखेको मधेसी मोर्चाले प्रमुख दलहरूलाई दोष देखाउने गरेको छ ।
तर, कांग्रेस, एमाले र एमाओवादीले मधेसी मोर्चाका कारण वार्ता सहमतिको नजिक पुगेर पनि निष्कर्षमा नपुग्ने गरेको आरोप लगाउने गरेका छन् ।












प्रतिक्रिया