
काठमाडौं, ५ माघ । माल्दिभ्सलाई ४-१ ले पराजित गर्दै नेपाल बङ्गलादेशमा जारी बङ्गबन्धु गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
यो खेलबाट नेपाल १७ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलको फाइनलमा प्रवेश हो । नेपालका नवयुग श्रेष्ठले तीन र विशाल राईले १ गोल गर्दै जित दिलाए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार सन् १९९९ पछि नेपाल कुनै पनि अन्तर्राष्ट्रिय फुटबलको फाइनलमा पुग्न सकेको थिएन् जून आज नवयुगको ह्याट्रिकको मद्दतमा पुरा भएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालकातर्फबाट ह्याट्रिक गर्ने नवयुग पाँचौ खेलाडी समेत बनेका छन् ।
को हुन् नवयुग ?
यसैवर्ष अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका नवयुगले अहिलेसम्म नेपाली राष्ट्रिय टोलीबाट ७ वटा खेल मात्र खेलेका छन् । २५ वर्षीय यी युवाले यसैवर्ष भारतसँग भएको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।
विङ्गर र फरवार्डको रुपमा तीब्र गति र आक्रमक शैलीमा खेल्ने उनी विपक्षीहरुका लागि सधैँ खतरनाक मानिन्छन् । पाँच फिट ६ इन्च अग्ला नवयुग छरिता फुटबलर हुन् । सानो जीउडालका भएकाले पनि उनी निक्कै फास्ट खेल्छन् । उनको स्कोरिङ पनि राम्रो छ । विशेषगरी पेनाल्टी क्षेत्रनजिकबाट उनले गोल हान्न माहिर छन् । राष्ट्रिय लिग २०६८ मा फरवार्डको भूमिका उत्कृष्ट प्रदर्शन गरेपछि उनले राष्ट्रिय टिममा स्थान पाएका हुन् । उनले राष्ट्रिय लिगमा सर्बाधिक १४ गोल गरेका थिए ।
यसअघि श्रीलंकालाई हराउँदा पनि नवयुगले प्रहार गरेको बल गोल पोस्टमा लागेर फर्किएको थियो । पोस्टबाट फर्किएको बललाई विमल घर्तीमगरले प्रहार गर्दा त्यो गोलमा परिणत भएको थियो ।
इलामस्थित मंगलबारेका नवयुगले पोखरा-बुटवलमा २०६८ मा भएको राष्ट्रिय लिगमा सर्बाधिक ७ गोल गरेका थिए । त्रिभुवन आर्मी क्लब फुटबल टोलीका सदस्य उनी क्लबका लागि फरवार्डको रुपमै खेल्ने गर्छन् । उनी आर्मी क्लबका उत्कृष्ट खेलाडी पनि हुन् ।
नेपालले बंगबन्धु गोल्डकपको फाइनलमा शुक्रबार बहराइन यू–२३ सँग खेल्नेछ ।















प्रतिक्रिया