– झलक पाली
डोटी, ५ माघ । पशुपंक्षी विकासमन्त्री शान्ता मानवीले मधेशका मुठ्ठीभर व्यक्तिहरु र नेपाली काँग्रेसका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताएकी छन् ।
मन्त्री बनेपछि पहिलो पटक सुदूरपश्चिम भ्रमणमा सोमबार डोटी पुगेकी मानवीले एमाले डोटीले सिलगढीमा आयोजना गरेको स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् ।
मानवीले भनिन्-‘मधेश आन्दोलनका नाममा केहि मुठ्ठीभर व्यक्तिहरुले देशभित्रको कुरा देश बाहिर लगेर एउटा समस्या भयो त, नेपाली काँग्रेसले संविधान जारी हुनुपूर्वको भद्र सहमति तोडेर अहिलेको सरकारलाई संविधान कार्यान्वय नगर्न समस्या गरेको छ ।’ उनले थपिन्–‘सामन्तवादी चिन्तन, जमिन्दारी शैलीका मधेशका केहि व्यक्तिहरुका कारण नाकाबन्दीको समस्या निम्तिएको हो ।’
नेपालमा पहिलोपटकको संविधान सभाको निर्वाचन एमालेकै भूमिकाका कारण सफल भएको र दोस्रो पटकको निर्वाचन तथा संविधान जारी गर्नमा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीको ठूलो भूमिका रहेको बताईन् ।
विभिन्न दलहरुले संविधान जारी गर्नुपूर्वको सहयोगको स्मरण गर्दै त्यसबेलामा भएको भद्र सहमतिअनुसार नेपाली काँग्रेसले आफ्नो चरित्र देखाउँदै सहमति भाँडेपछि सरकारमा सहभागी दलहरुलाई मिलाउन पनि मन्त्रालयहरु फुटाउनु ओली नेतृत्वको सरकारको बाध्यता भएको उनले बताईन् ।
यतिञ्जेल कृषिविकास मन्त्रालयको एक पाटोका पशु सेवाविभाग रहेको र अहिले पशुपंक्षी विकासमन्त्रालय बन्नु पशुपालक किसानहरुकालागि अवसर भएको मन्त्री मानवीले बताईन् ।
एमाले डोटीका अध्यक्ष चक्र मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले डोटीका उप–सचिवमञ्जु मलासीले स्वागत मन्तव्य राखेकी थिईन् । कार्यक्रममा एमालेका विभिन्न नेता कार्यकर्ता तथा शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।












प्रतिक्रिया