
भक्तपुर, ४ माघ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले देश निर्माणका लागि सबै एक ढिक्का भएर जानुपर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेसका नेता एवम् पूर्वसांसद लेखनाथ न्यौपानेद्वारा लिखित ‘काँग्रेस र म’ नामक पुस्तक विमोचन गर्दै उहाँले मुलुकमा शान्ति, स्थायित्व र लोकतन्त्रको एकैसाथ विकास गर्नका लागि सबै मिलेर जानुपर्छ भन्ने महसुस भएको स्पष्ट गर्नुभयो ।
“देशको समस्या समाधानका लागि दलको वार्ता निरन्तर चलिरहेको छ, आज पनि छलफल छ, भोलि(मङ्गलबार) बस्ने संसद् बैठकले केही उपलब्धि हुने विश्वास छ,” पूर्वप्रधानमन्त्री कोइरालाले भन्नुभयो “माओवादी समस्या र हतियार व्यवस्थापन त वार्ता, सहमति र सहकार्यबाट सम्भव भयो भने मधेस आन्दोलन नटुङ्गिने भन्ने छैन, यो पनि वार्ताबाटै समाधान हुन्छ ।”
सभापति कोइरालाले काँग्रेसको इतिहासलाई बचाउन पार्टीभित्रको गुटबन्दी अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो- “मबाट पनि गल्ती हुन सक्छन्, गल्ती भए औंल्याउनुहोस्, पार्टीको आगामी महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा म लागेको छु ।” रासस












प्रतिक्रिया