
जुम्ला, ४ माघ । दशकौँदेखि मनपरी रुपमा फँडानी हुदै आइरहेको राष्ट्रिय वन जोगाउने अभियानमा यहाँका महिला सक्रिय भएका छन् ।
जुम्लामा पाइने देवदार सल्लोको वन बहुउपयोगी मानिन्छ । एकदशकअघिको घना जङ्गल मासिएर उजाड भूमि बन्दा पनि कसैको चासो नगएपछि महिलाको पहलमा वन जोगाउन थालिएको राष्ट्रिय वन संरक्षण समिति कुडारी– ४ जुम्लाका अध्यक्ष नानीभाउ सुनारले बताउनुभयो । वन जोगाउन जति पनि नियम तथा आचारसंहिता बने तर त्यसको सही कार्यान्वयन नहुँदा वन मासिने क्रम जारी रह्यो । फलस्वरुप अतिवृष्टि र अनावृष्टिको समस्या पटक पटक भोग्दै आएका छौँ – अध्यक्ष सुनारले भन्नुभयो ।
राष्ट्रिय वनका साथै सामुदायिक वन जङ्गलको अवस्था निकै नाजुक भएको समितिका सचिव रीता शाहीको धारणा छ । उहाँले भन्नुभयो, सामुदायिक वन समितिमा महिला नै राखिएको छैन । पुरुषको हेलचेक्रयार्इं र मनोमानीका कारण सामुदायिक वन तहसनहस हुँदै गएको उहाँको भनाइ छ । त्यसमा सम्बन्धित निकायले पनि गाउँका वनमा सही रेखदेख नगरेको सदस्य गोरीकला शाहीले दुःखेसो गर्नुभयो ।
महिलाको यो समितिले अहिले एकजना पुरुष पूर्णबहादुर शाहीलाई मासिक प्रतिघर रु २० दिनेगरी दैनिक वन रक्षकका रुपमा राखेको छ । वन हुँदा वातावरण अनुकूल हुने र यसको समुचित प्रयोगले आवश्यकता परिपूर्ति भई खडेरीबाट बच्न सकिने चेतना अब बढदै गएको देखिन्छ । त्यही चेतनाले गर्दा वडाको नेतृत्व लिएर वन जोगाउन तम्सिएका छन् महिलाहरु । अहिले यो वडामा ११८ घरधुरी रहेका छन् । रासस












प्रतिक्रिया