
काठमाडौं, ३ माघ । दुई हप्ता लामो दिल्ली बसाईपछि सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो काठमाडौं फर्किएका छन् ।
जोगवनी नाकामा प्रहरी र मोर्चाबीच भएको झडपमा घाइते भएर उपचारका लागि महतो दुई हप्ताअघि दिल्लीको मेदान्त अस्पताल गएका थिए ।
दिल्लीमा उपचारपछि उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, विदेशमन्त्री सुषमा स्वराज, विपक्षी कांग्रेस आई नेता राहुल गान्धीसहितका नेताहरुसँग भेटघाट गरेका थिए ।
उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने तयारी छ ।
महतो काठमाडौं फर्किएलगत्तै तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर आइतबार अपराह्न नयाँ दिल्ली जाँदैछ्न ।
मधेसी मोर्चाका एक घटक तमलोपाका नेता ठाकुर अपरान्ह ४ बजे जेट एयरवेजको उडानबाट नयाँ दिल्ली उड्न लागेका हुन् । स्वास्थ्य उपचारको लागि दिल्ली जाने भनिए पनि उनले त्यहाँ राजनीतिक भेटघाट समेत गर्नेछन् ।
उनको दिल्ली स्थित मेदान्त अस्पतालमै उपचार हुनेछ । मोर्चा र तीन दलबीच सहमति हुने बेला महतोको दिल्ली यात्रालाई महत्वका साथ हेरिएको छ ।












प्रतिक्रिया