काठमाडौं, ३ माघ । भारतको राजधानी नयाँदिल्लीमा रहनुभएका सद्भावना पार्टीका अध्यक्ष तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता राजेन्द्र महतो आज काठमाडौं आउँदै हुनुहुन्छ ।
उपचारका लागि नयाँदिल्ली जानुभएका अध्यक्ष महतो आज मध्यान्ह साढे १२ बजे काठमाडौं आइपुग्ने सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकारी दिनुभयो । ‘अध्यक्ष राजेन्द्र महतो ज्यू मध्यान्ह साढे १२ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम छ’, उहाँले भन्नुभयो, ‘आजै बेलुका सात बजे बालुवाटारमा प्रधानमन्त्री केपी ओली र अध्यक्ष महतोबीच भेटवार्ता पनि हुँदैछ ।’
विराटनगरको रानी भन्सार नाका अबरोध गर्न जाने क्रममा सुरक्षाकर्मीसँग भएको झडपमा चोट लागेर घाइते अध्यक्ष महतोलाई उपचारका लागि भारतको राजधानी नयाँदिल्ली लगिएको थियो ।
नयाँदिल्लीमा रहँदा भारतीय राष्ट्रपति प्रणव मुखर्जीका साथै उच्च राजनीतिक भेटवार्ता गर्नुभएका अध्यक्ष महतोले सो विषयमा पनि प्रधानमन्त्री ओलीसँग छलफल गर्ने महासचिव सुमनले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नयाँदिल्लीमा रहेका बेला अध्यक्ष महतोलाई फोन गरेर सहमतिमा आउन आग्रह गरेदेखि ओली र महतोबीच सम्बन्ध सुध्रिएको छ । सम्बन्ध सुध्रिएकै कारण सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण कार्यदलको बैठकमा जान थाल्नुभएको छ ।












प्रतिक्रिया