१ कार्तिक २०८३, शनिबार

कविको प्रश्नः मोर्चामा राष्ट्रियता खै ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

भैरहवा । साहित्यकार तथा कविहरुले तराई मधेसमा आन्दोलनको नेतृत्व गरिरहेका नेताहरुमा राष्ट्रियता हराउदैं गएमा चिन्ता व्यक्त गरेका छन् ।

सिद्धार्थ साहित्य परिषदद्वारा भैरहवामा आयोजित कार्यक्रममा नेपाली भाषा साहित्यका विद्वान तथा कविहरुले भने– ‘जारी आन्दोलनमा राष्ट्रियताको एजेन्डा नै छैन । भारतद्वारा निर्देशित छ ।’ कविहरुले जारीे आन्दोलन यत्तिकै तुहिने संकेत गर्दै भने नेपाली हुनुमा गर्व गर्न नसक्ने तर क्षेत्रीयवादी चिन्तन र जातिगत चिन्तन बोकेर हिड्नेहरुले देशलाई संकटमा फसाईरहने हुँदा सरकार राष्ट्रियता विरोधी गतिविधीमा कडा रुपमा प्रस्तुत हुनुपर्दछ ।

सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टाराईको अध्यक्षता तथा लेखक उदयराम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न परिषदको १ सय ८२ औं मासिक संगममा कवि रुद्र ज्ञवालीले गेयात्मक शैलीको कवितामा भने ‘उतैको छ गोली, निशाना उतैको । छ बोक्सी उतैको र धामी उतैको ।। सलाई उतैबाट कोरी पठाए । र, यो देशलाई खरानी बनाए ।। भन्दै मोर्चा र नाकाबन्दी गर्ने भारतीय व्यवहारप्रति आक्रोस व्यक्त गरे ।

कार्यक्रममा प्राज्ञ बुंद रानाले राज्य जित्नु ठूलो कुरा होइन । राज्य संगै साथ रहदैन ।। मन जित्नु जस्तो ठूलो कुरो…संसारमा कहि कतै छैन भन्दै गीत गाएका थिए । वरिष्ठ गजलकार समेत रहेका रानाले सदियौंदेखीको सामाजिक सद्भाव विथोल्ने ध्ययेले अहिले मधेसमा आन्दोलन चर्किएको जनाउदैं सीके राउत प्रवृती अन्तयको लागी सबै एक हुनुपर्नेमा जोड दिए ।

प्राध्यापक डा. कपिलदेव लामिछानेले नेपाली भाषा साहित्य र समाजकोलागी परिवर्तन आवश्यक भएता पनि अहिले चलिरहेको आन्दोलनको तुक नभएको बताए । उक्त अवसरमा शिक्षावीद बालकृष्ण भट्टराई, कवि भरत कुमार पोखरेल, बनमाली निराकार, रामबहादुर श्रेष्ठ, माधव प्रसाद पन्थि, के एन मिश्र उन्मूक्त, लक्ष्मी अधिकारी, केशब शर्मा बेलबासे, सन्तोष पाण्डे, प्रकाश चन्द्र भट्टाराई, सीता काफ्ले, प्रशान्त न्यौपाने लगायतले कविता मार्फत राष्ट्रियता संकटमा परेको बेला सबै नेपाली एक भएर लाग्नुपर्नेमा आग्रह गरेका थिए ।

परिषदका सचिव नरेश केसीको सन्चालन तथा उपाध्यक्ष रामबहादु्र श्रेष्ठको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा मणिराम भट्टराई, सोनु गुरुंग, युवराज खनाल लगायतको आतिथ्यता रहेको थियो । विक्रम सम्बत २०३८ सालमा स्थापना भएको परिषदले नियमित रुपमा साहित्यीक गोष्ठी, मासिक संगम तथा समसामायीक विषयमा बौद्धिक अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको छ ।