२८ आश्विन २०८३, बुधबार

अध्यक्षमा ओलीको विकल्प छैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidhya-bhandari
एमालेलाई आगामी नवौँ महाधिवेशनको दौडधुप कत्तिको लागेको छ ?

एमालेले हरेक पाँच वर्षमा आफ्नो महाधिवेशन गर्ने गर्छ । आठौँ महाधिवेशन भएको पाँच वर्ष पुरा भएको छ । त्यसैले अर्को महाधिवेशनको दौडधुप सुरु हुनु स्वाभाविक हो । हामीले जेठ ३ देखि ८ सम्म पार्टीको नवौँ महाधिवेशन गर्ने तयारी गरेका छौँ । महाधिवेशन सम्पन्न नहुन्जेलसम्म यो दौडधुप जारी रहन्छ । कत्तिले संसदीय दलको नेता चयन भएपछि मात्र एमालेमा महाधिवेशनको दौडधुप सुरु भयो भन्ने गरेका छन् । त्यो होइन् । कत्तिले संसदीय दलको नेता छनोटमा भएको निर्वाचनसँग जोडेर पनि महाधिवेशनको चर्चा गरेका होलान् । तर त्यसो पनि होइन । समयावधि पुगेर नै हामीले एमालेको नवौँ महाधिवेशनको तयारी व्यापक रुपमा अघि बढाएका हौँ । हामी तोकिएको मितिमै महाधिवेशन सम्पन्न गर्ने तयारीमा जुटेका छौँ ।

नवौँ महाधिवेशनमा पनि संसदीय दलको नेता छनोट जसरी नै नेतृत्व छनोट हुने अड्कलवाजी धेरैले लगाउन थालेका छन् नि, यस सन्दर्भमा तपाईंको बुझाई के–छ ?

हामी संसदीय दलको नेता छनोट सर्वसहमतिबाटै छान्ने तयारीमा थियौँ । तर, पार्टी अध्यक्ष झलनाथ खनाल र प्रभावशाली नेता केपी शर्मा ओली दुई जना उम्मेद्धवार बन्ने अवस्था भएपछि त्यो संभव भएन । अन्तिममा निर्वाचन नै गर्नु पर्ने अवस्था आयो । हामी नवौँ महाधिवेशन पनि सकेसम्म चुनावी प्रतिस्पर्धा विना नै नेतृत्व छनोट गर्नुपर्छ भन्नेमा छौँ । त्यो सँगै हामी एमाले भित्र नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गर्नुपर्छ भन्ने पक्षमा पनि छौँ । एउटै व्यक्ति लामो समयसम्म नेतृत्वमा रहिरहने हो भने त्यहाँ नेतृत्व जाम हुन्छ र नयाँ पुस्ताले अवसर पाउँदैनन् । त्यहि भएर पनि हामी नेतृत्व हस्तान्तरणको कुरा गरेको हो । आगामी महाधिवेशन पनि त्यतातिर केन्द्रित हुनुपर्छ भन्ने मेरो मान्यता छ । एमाले भित्रका अधिकाशं नेता–कार्यकर्ताको पनि मत यस्तै छ । परिवर्तनको पक्षमा रहेका सबैको भनाई पनि यही नै हो ।

तपाईंको आसय संसदीय दलका नेता समेत रहेका एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीलाई नै नवौं महाधिवेशनमा सर्वसम्मत अध्यक्ष बनाउनु पर्छ भन्ने हो ?

हो, हामी यही महाधिवेशनबाटै नेतृत्व हस्तान्तरणको प्रक्रियामा प्रवेश गरौँ भन्नेमा छौँ । त्यसैले संसदीय दलको नेतासमेत रहनु भएका केपी शर्मा ओलीलाई यो पटक सर्वसम्मत रुपमा अध्यक्ष बनाऔँ भन्ने हाम्रो भनाई छ । हामीले कार्यकारी पदमा एक कार्यकाल मात्र रहने व्यवस्था गर्दै छौँ । त्यसैले उहाँ एक कार्यकाल अध्यक्ष हुनुहुन्छ । यदि उहाँ बीचमा राष्ट्रिय भूमिकामा जानुभयो भने उहाँले अर्को नयाँ नेतालाई नेतृत्व हस्तान्तरण गर्नुहुन्छ । यसरी हेर्ने हो भने नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुँदै जानेछ । त्यसले सन्देश पनि राम्रो दिन्छ । परिवर्तन र गतिशीलताको पक्षमा रहेकाहरूलाई पनि यसले सकारात्मक सन्देश दिनेछ र युवापुस्तामा पनि नयाँ ऊर्जा आउने छ ।

तर, वरिष्ठ नेता माधवकुमार नेपालले पनि नेतृत्वको अकांक्षा देखाउनुभएको छ । त्यसैले सर्वसम्मत नेतृत्व छनोट हुने सम्भावना त देखिदैँन नि ?

नेतृत्वको आकांक्षा देखाउनु अस्वाभाविक होइन । यो विषयमा हामी व्यापक छलफल गरेर अघि बढ्छौँ । यस सन्दर्भमा उहाँँ (माधव नेपाल)सँग पनि कुराकानी भएको छ । उहाँ पनि सर्वसम्मत नेतृत्वको विपक्षमा हुनुहुन्न ।

संसदीय दलको नेता छनोटसँगै एमालेमा सत्तासमीकरणमा परिवर्तन भएको र ओली समूह बलियो बनेको भन्ने चर्चा छ नि ?

पार्टीमा बलियो र कमजोर हुने भनेको नीति, विचार र दृष्टिकोणले हो । जसको नीति, विचार र दृष्टिकोण कमजोर छ, त्यो पार्टीमा पनि कमाजोर हुन्छ । जसको नीति, विचार र दृष्टिकोण ठिक छ, त्यो पार्टीमा सधैँ प्रभावशाली हुन्छ । जहाँसम्म केपी शर्मा ओलीको सन्र्दभको कुरा छ, उहाँ हिजो पनि पार्टीमा वलियो हुनुहुन्थ्यो र अहिले पनि उहाँ वलियो हुनुहुन्छ । उहाँका विचार र दृष्टिकोण पार्टीमा जहिले पनि सही सावित भएका छन् । उहाँले पार्टी र सङ्गठनलाई अघि बढाउन खेलेको भुमिका पनि सही रहँदै आएको छ । कार्यकर्ताले त्यसको पनि मूल्यांकन गरेका छन् । त्यसैले हिजो, आज र भोलि पनि उहाँको पार्टीमा ‘पोजिसन’ बलियो थियो, छ र रहिरहने छ ।

ओली पार्टी अध्यक्ष बनेपछि जनताको बहुदलीय जनवाद अझ मजवुत बन्नेछ भन्ने तपाईको तर्क हो ?

हो, उहाँ अध्यक्ष बनेपछि जवज अझ मजबुत बन्ने छ र जवजलाई कार्यान्वयन गर्न अझ प्रभावकारी ढंगले अघि बढाउन सकिन्छ भन्ने मैले आशा गरेकी छु ।

नवौँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व छनोट हुने अवस्था आएन भने केपी शर्मा ओलीले आफ्नो दाबी छाड्ने संभावना छ कि छैन ?

उहाँले एक पटक पार्टीको कार्यकारी प्रमुख भएर काम गर्ने सोँच बनाउँनु भएको छ । आफ्ना विचार र दृष्टिकोण एक पटक पार्टीमा लागु गराउँने उहाँको योजना छ । त्यसैले उहाँले र उहाँलाई समर्थन गर्ने हामीले अहिलेसम्म यसको विकल्पमा सोचेका छैनौँ ।

तपाई अहिले पार्टीको उपाध्यक्ष हुनुहुन्छ, तपाईको सन्दर्भमा कुरा गर्दा नि ?

म उपाध्यक्ष भएको नाताले स्वाभाविक रुपमा अध्यक्ष पदका लागि मेरो दाबी अस्वाभाविक हुँदैन । मसँग पार्टी प्रमुख भएर काम गर्ने योग्यता क्षमता पनि छ । तर, हामी सर्वसम्मत नेतृत्व छनोट गर्नुपर्छ भन्ने मान्यतामा रहेकाले अध्यक्षका लागि अहिले नै मरिहत्ते गर्ने र उछिनो–पाछिनो गर्ने पक्षमा म छैन ।