
काठमाडौँ, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुलोचुलोमा ग्यासको पाइपलाइन जडान, एक वर्षभित्र विद्युत् कटौतीको समाप्ति, हावाबाट ऊर्जा उत्पादन तथा उपत्यकाभित्र विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउन आफू प्रतिबद्ध भएको दोहोर्याउनुभएको छ ।
उहाँले भन्नुभयो, “म जति दिन प्रधानमन्त्री पदमा रहन्छु, ती कार्य पूरा गर्न मेरो प्राथमिकतामा रहन्छ । यो मेरो अथक प्रयासलाई हँसीमजाकमा नउडाउन सबैसित आग्रह गर्दछु ।”
प्रधानमन्त्री ओलीका चार प्रतिबद्धताः
१) चुलोचुलोमा ग्यासको पाइपलाइन जडान
२) एक वर्षभित्र विद्युत् कटौतीको समाप्ति
३) हावाबाट ऊर्जा उत्पादन
४) काठमाडौं उपत्यकाभित्र विद्युतीय सवारीसाधन सञ्चालन
वरिष्ठ हृदयरोग विशेषज्ञ (कार्डियोलोजिस्ट) प्रा डा अरुण साय्मीको प्रमुख लेखनमा डा हेमन्त श्रेष्ठ र डा सूर्य देवकोटाले प्रकाशनमा ल्याउनुभएको ‘कार्डियोलोजी एन्ड क्रिटिकल केयर’ नामक पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो – कुरा काट्नेहरु काटिरहन्छन् तर म पछाडि फर्किन्नँ । ती कार्य पूरा गरेरै छाड्छु ।
“सिंहदरबारमा प्रधानमन्त्रीको तस्बिर ठड्याउन मात्र म सिंहदरबार गएको होइन, भूकम्प र अघोषित नाकाबन्दीले थिलथिलो भएको जनताको जीवनस्तरलाई माथि उकास्ने मेरो ध्येय छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । आफूलाई केहीको पनि लोभ नभएको बताउँदै उहाँले भन्नुभयो – देश र जनताकै चिन्ता मात्र मलाई छ । रासस












प्रतिक्रिया