काठमाडौं, १ माघ । प्रधानमन्त्री केपी ओलीले थारु समुदायको सबैभन्दा ठूलो चाड तथा थारु, मगर र छन्त्याल समुदायले राष्ट्रिय पर्वका रुपमा मनाउने माघी पर्व २०७२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा बस्नेसबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।
आज दिनुभएको एक शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले नेपाल जातजाति, भाषा, धर्म र संस्कृतिको दृष्टिले विविधितायुक्त मुलुक भएको र सबै धर्म, समुदायका आआफ्ना संस्कृति र परम्परा रहिआएको बताउँनुभएको छ । उहाँले सरकारले २०६४ सालमा यस पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउने निर्णय गरिसकेको स्मरण गराउनुभएको छ ।
ओलीले माघी पर्वले सबै नेपालीको भावनालाई एकतामा जोड्ने प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।
संविधानले सबै जातजाति, भाषाभाषी, धर्म र समुदायको सांस्कृतिक अधिकारको सुनिश्चितता प्रदान गरेको र यसको कार्यान्वयन गर्ने गराउने सन्दर्भमा हामीबीचको एकता झनै अनिवार्य छ भन्दै मुलुकको जटिल परिस्थितिमा अझै बढी एकताबद्ध हुनु आवश्यक रहेकामा जोड दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताका निमित्त एकताबध्द भएर अघि बढ्न माघी पर्वबाट सबैमा प्रेरणा मिलोस् भन्ने कामना समेत गर्नुभएको छ । रासस












प्रतिक्रिया