
काठमाडौ, ३० पुस । नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले देशको प्रधानमन्त्रीले जनतालाई नयाँ सपना नदेखाउने हो भने पढेलेखेका यूरोप अमेरिका र नपढेका यूवाहरु खाँडी राष्ट्र गए भई हाल्छ किन राष्ट्र चाहियो भनि प्रश्न गरेका छन ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले भने– ‘रिबन काट्ने, उद्घाटन मात्रै गर्ने र १० देखि ५ बजेसम्मको ड्यूटी गर्ने हो भने किन चाहियो सरकार ? सरकारले सपना देखाउन सक्नुपर्छ । तर त्यसलाई कार्यान्वयन गर्न सचेतता, एजेण्डा र कार्यान्वयनको योजना चाहिन्छ । भूकम्प, नाकाबन्दीले चुर भएको मुलुकलाई सपना देखाउन सक्ने नेतृत्व चाहिएको छ । नयाँ सपना नदेखाउने हो भने पढेलेखेका यूरोप, अमेरिका र अरु खाँडी गए भई हाल्यो । नेपाल किन चाहियो ?’
प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिब्यक्तिलाई लिएर सर्वत्र आलोचना भईरहेको बेला त्यसको बचाऊ गर्दै उनी निकट ज्ञावलीको यस्तो भनाई आएको हो । सचिव ज्ञावलीले मधेस समस्या समाधानको विन्दुमा पुगेको भन्दै आगामी माघ ५ गते अघि नै समझदारी हुने विश्वास ब्यक्त गरे ।
उनले भने– ‘माघ ५ गतेभित्रै सहमति हुनु पर्छ । मधेस आन्दोलनले आन्तरिक राजनीतिमा बाह्य चासो बढाएको, सामाजिक सद्भावमा आँच पुर्याउने, अर्थतन्त्रलाई नराम्रोसँग प्रभावित गरेको र मुलुकमा अराजकता बढाएको छ । त्यसैले यसलाई जतिसक्दो चाडो हल गर्नुपर्छ । बार्तालाई हल्का रुपमा लिनुहुँदैन अहिले मुलुकको लागि यो भन्दा ठूलो एजेण्डा छैन । बार्तामा रहेका मन्त्रीहरुले यसलाई गंभिर रुपमा लिनुपर्छ ।’
सचिव ज्ञावलीले भाषिक असहमति मिलाएर संविधान संसोधन गर्ने र क्लष्टर कम गर्ने प्रयासमा रहेको जानकारी दिदै सीमांकन ब्यवहारबाट परिपक्व हुने भएकोले आजै हुन नसक्ने भएकोले संयन्त्र गठन गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।
भारतले नेपालमा गरेको नाकाबन्दी अलोकतान्त्रिक संविधान भएर वा मधेसप्रतिको मायाले नभएको दावी गर्दै भने– ‘अलोकतान्त्रिक संविधान भएको भुटान र म्यान्मारसँग भारको राम्रो सम्बन्ध छ । त्यहाँ त उसले संविधान लोकतान्त्रिक भएन भनेर भनेको छैन । भारतको यो कदम उसकै लागि अहिले प्रत्यूत्पादक बनेर उ त्यसलाई पुर्नमुल्याङकन गर्न लागेको छ । मधेस समस्या समाधानपछि नाकाबन्दी पनि खुल्छ, आन्दोलन पनि रोकिन्छ ।’
एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले संसदमा रहेको संविधान संसोधनमा भाषा मिलाएर मधेसको माग आधार पुरा हुने भन्दै सीमांकनमा संसदबाट अनुमोदन गरेर संबैधानिक हैसियतसहितको राजनीतिक संयन्त्र गठन गरेर अघि बढ्ने बताए ।
प्रवक्त शर्माले देश अप्ठ्यारोमा परेको बेला सबै फाईदा लिन लाग्ने भएकोले नाकाबन्दीको नाममा कालाबजारी बढेको भन्दै मधेस मुद्दालाई सम्मानजनक निष्कर्समा पुर्याएपछि यसको अन्त्य हुने दावी गरे ।
सरकार र मधेसी दुबै सकारात्मक भएकोले कुरा मिल्ने विश्वास ब्यक्त गर्दै उनले मधेसी दलहरुहरुलाई नाका खोल्न आग्रह सहित सहमति नभए फेरि आन्दोलन गर्न सुझाव दिए ।
नेपाली काग्रेसका सभासद रामहरी खतिवडाले संसदमा रहेको संविधान संसोधन प्रस्ताव पारित भएपछि मधेसी मोर्चाको कुनै माग बाँकी नरहने दावी गर्दै संसोधनमा मोर्चा पनि सहमतिमा आउने विश्वास ब्यक्त गरे ।












प्रतिक्रिया