पोखरा, ३० पुस । नेपाली कांग्रेसले पोखरामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा १३औँ महाधिवेशन केन्द्रित छलफल भएको छ ।
केन्द्रीय नीति तथा कार्यक्रम प्रशिक्षण विभागद्वारा आयोजित दुई दिनको यो छलफलमा महाधिवेशनकै विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।
विभागका संयोजक एवम् उपसभापति रामचन्द्र पौडेलले आयोजना गरेको प्रशिक्षणमा सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा भने गएनन् । तर अधिकांश केन्द्रीय सदस्य भेलामा पुगेका थिए । भेलामा केही सो क्षेत्रका अधिकांश सांसदहरूको सहभागिता रहेको थियो ।
उपसाभापति पौडेलले आफूलाई सभापतिको उम्मेदवारीमा लक्षित गरेर पोरखामा प्रशिक्षण कार्यक्रम आयोजना गरेको आरोप छ । तर आरोप मान्न पौडेल तयार छैनन् । पौडेलले पार्टीको भावी कार्यदिशा, १३औँ महाधिवेशनमा कुशल नेतृत्व र नयाँ संविधानका विषयमा पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिन कार्यक्रम गरिएको बताउँछन् ।
१३औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका पौडेलले प्रदेशअनुसार आफ्नो विभागमार्फत प्रचार प्रसार गर्दै आएका छन् । पौडेलले पछिल्लो समय आफ्नो पक्षमा राम्रो माहोल बनाएको वरिष्ठ नेता शेरबहादुर देउवा निकटका नेताहरूनै स्वीकार गर्छन् ।
उपसभापति पौडेलले यही विभागमार्फत दाङमा माघ २ गते प्रशिक्षण कार्यक्रम पनि राखेका छन् । त्यहाँ पनि उनले आफ्नो प्रचार प्रसार गर्ने एक नेताले बताए ।
कांग्रेसको महाधिवेशन नजिकिएका बेला पौडेलले भने विभिन्न स्थानमा भेला र प्रशिक्षण दिँदै आएका छन् । पौडेलको यो गतिविधिबाट सभापति सुशील कोइराला र वरिष्ठ नेता देउवा खुसी छैनन् ।












प्रतिक्रिया