काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका नेता रामशरण महतले सम्पत्ति विवरण नबुझाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जरिवाना गरेको विषय आफूलाई कुनै जानकारी नरहेको बताउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आज बिहान कुरागर्दै पूर्व अर्थ मन्त्री समेत रहेका कांग्रेस नेता महतले आफूले सधै सम्बत्ति विवरण बुझाएको दाबी गर्नुभयो ।
‘अख्तियारले पाँच हजार जरिवाना गरेको कुरा मलाई थाहा छैन’, उहाँले भन्नुभयो, ‘पत्रपत्रिकाले जे पनि लेख्छन् । यदि जरिवाना गरेको रहेछ भने तिर्नुपर्छ ।’
पूर्व अर्थमन्त्री महतले अगाडि भन्नुभयो, ‘सम्पत्ति विवरण सरकारको निकायमा बुझाएको छु । पाँच हजार जरिवाना गरेको मलाई थाहा छैन ।
जरिवाना तिर्नुपर्ने भयो भने तिरिन्छ । समयमा नतिरेको भए सबैले तिर्नुपर्छ । कसैले भुलवस नतिरेको हुन्छ ।’
अन्तर्वार्ताका क्रममा सोधिएको प्रश्नमा जवाफ दिने क्रममा रिसाउने र झर्कने गरेका महतले आफूलाई लगाइएका आरोपहरू सबै झुठ रहेको बताउनुभयो ।
तोकिएको समयमा सम्पत्ति विवरण नबुझाएका पूर्व अर्थमन्त्री महतलाई अख्तियारले बुधबार दण्ड स्वरुप पाँच हजार जरिवाना तोकेको छ ।












प्रतिक्रिया