रौतहट, ३० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहटका स्थानिय विकास अधिकारी बसन्त कुमार भण्डारीलाई पक्राउ गरेको छ । उनलाई घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सरकारी निवास गौरमा सोमबार विहान छापा मारेर एक लाख २० हजार नगदसहित उनलाई नियन्त्रणमा लिएको हो ।
हेल्प लाइन नेपाल गौर रौतहट नामक गैर सरकारी संस्थाका संचालक रामप्रताप यादवसँग झोलुङ्गे पुलको सम्झौता नविकरणका लागि स्थानिय विकास अधिकारी भण्डारीले रकम मागेका थिए ।
आयोगले नम्बर टिपेर पठाएको एक लाख २० हजार रुपैंया स्थानिय विकास अधिकारीबाट बरामद भएको थियो ।
उनलाई कानुनी कारवाही र अनुसन्धानका लागि अख्तियारले काठमाडौं लगेको छ । भण्डारीले भने आफूलाई फसाउने नियतका साथ षड्यन्त्र गरेको दाबी गरेका छन् ।















प्रतिक्रिया