काठमाडौँ, ३० असार । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपालको साविकको क्षेत्रफलमा कम्तीमा ९०० वर्ग किलोमिटर घटेको आशङ्का गरेको छ ।
भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा मोर्चाले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै नेपाल–भारत सीमा सर्वेक्षणसम्बन्धी स्ट्रिप म्याप (हालको नयाँ नक्सा)मा नेपाली भू–भाग भारततिर पारिएको आशङ्का व्यक्त गर्नुका साथै सिमानामा कतिपय नेपालीका हातमा जमिन बिनाका लालपुर्जा मात्र बाँकी रहेको बताएको छ ।
परराष्ट्रमन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाउने क्रममा मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले नेपालको मौजुदा एक लाख ४७ हजार १८१ वर्ग किमी क्षेत्रफल स्ट्रिप म्यापमा कायम नभएको दाबी गर्नुभयो ।
मोर्चाका अध्यक्ष नेपालले स्ट्रिप म्याप शतप्रतिशत काम सम्पन्न नभइकन सरकारले हस्ताक्षर गर्न नहुने र उक्त म्यापको अध्ययनका लागि सीमाविद्, इतिहासविद्, प्राविधिक र सीमा अध्येतासहितको समिति गठन गर्नुपर्ने सुझाव दिनुभयो ।
ज्ञापनपत्र बुझ्दै मन्त्री पाण्डेले आफू नेपालको एक इन्च क्षेत्रफल पनि तलमाथि हुन नदिने र अपुरो नक्सामा हस्ताक्षर नगर्ने विश्वास दिलाउनुभयो ।
उहाँले विवादित क्षेत्रका नक्साङ्कन गर्न उक्त क्षेत्रमा तथ्यमा आधारित तर्कका आधारमा नेपाल–भारत दुवै पक्ष बसेर समाधान निकालिने बताउनुभयो ।
मन्त्री पाण्डेले हाल ९७ प्रतिशत नक्साङ्कन सम्पन्न भएको स्ट्रिप म्याप स्थलगत क्षेत्रमा भिडाउन बाँकी रहेकाले अहिल्यै हस्ताक्षर नहुने पनि जानकारी गराउनुभयो ।
सो क्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले कुनै दुई देशबीच सिमाङ्कनको कार्य शतप्रतिशत सम्पन्न भएपछि मात्र त्यसमा हस्ताक्षर हुने अन्तर्राष्ट्रिय मान्यता रहेकाले त्यसतर्फ मन्त्री पाण्डेको ध्यानाकर्षण गराउनुभएको थियो ।
इतिहासविद् चेतङ्जङ्ग हिमालीले सीमाका कतिपय नेपाली भूमि अहिले पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा भारतमा रहेको जानकारी गराउँदै नक्सालाई क्षेत्रमा भिडाउन आवश्यक भएको बताउनुभयो ।
मोर्चाले विभिन्न सातबुँदे मागसहित ज्ञापनपत्र बुझाउँदै मन्त्री पाण्डेलाई नक्साङ्कन पूरा नभई हस्ताक्षर नगर्न आग्रह गरेको थियो ।
















प्रतिक्रिया