काठमाडौं, २५ पुस । भारतीय निर्देशकसहित अधिकांश प्राविधिकलाई राखेर निर्माण गरिएको ‘बागमती’ फिल्मले रिलिजको पहिलो दिनै हावा खाएको छ । पहिलो शोमा मुस्किलले जम्मा भएका दर्शकले ‘बागमती’लाई मन नपाराएको प्रतिक्रिया उनीहरूले दिएका छन् ।
फिल्म हेर्न पुगेका दैनिक पत्रिकामा कला समाचार लेख्ने पत्रकारले भने, ‘फिल्मको कथा र नाम मेलै खाँदैन । मलाई त मन नपरेर बीचैमा छाडेर निस्किए ।’ ती पत्रकारका अनुसार भारतीय निर्देशक र प्राविधिक टोलीलाई राखेर फिल्म बनाइ चलाउने प्रयास गरे पनि ‘बागमती’ राम्रो फिल्म बन्न नसकेको बताए ।
चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले त सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेखेर ‘बागमती’को आलोचना गरेका छन् । उनले भनेका छन्, ‘बागमती अझै फोहोर नै रहेछ । २ करोड खर्च गरेर के सफा गरे होलान कुन्नी ?’
नयाँ पत्रिका दैनिकमा कार्यरत रङ पत्रकार लक्ष्मण सुवेदीले पनि बागमतीका विषया खासै राम्रो टिप्पणी गरेका छैनन् । उनी भन्छन्, ‘जिन्दगीको एक घन्टा ३८ मिनेट खेर गयो । उच्च शीरदर्दले इन्तु न चिन्तु बनाएको छ ।’
अर्का रङ पत्रकार नेमीष गौतमले भने, ‘बागमती फिल्मले बागमती नदीको नाम दुरुपयोग गरेको छ । फिल्मको कथा र निर्माणमा कुनै तालमेल छैन ।’ उनी शुक्रबार फिल्म हेर्न गए पनि फिल्म पूरै नहेरेर आएको बताए ।
फिल्मको कलेक्सन र दर्शकको प्रतिक्रिया के पाउनु भयो ? भनेर निर्माण पक्षसँग बुझ्न फोन गर्दा मोबाइल उठेन ।
राजधानीका मल्टिप्लेक्सहरू शुक्रबार फिल्म रिलिज भएकै दिन सुनसान बनेपछि निर्माण पक्ष जिल परेको छ । अझै रङ पत्रकारहरूको राम्रो प्रतिक्रिया नआएपछि ‘बागमती’ फोहर अझै यथावत रहेको बुझ्न सकिन्छ ।
मल्टिप्लेक्सहरूले ‘बागमती’लाई उतार्ने चेतावनी निर्माण तथा वितरकहरूलाई दिइसकेका छन् । मल्टिप्लेक्सहरूलाई फकाउन निर्माण पक्षले सुनको सिक्रीको योजना ल्याएको छ । तर यो योजनालाई हल सञ्चालकहरूले पत्याएका छैनन् ।
सुरूमै फाइट सिन राखिएको फिल्मको कथा बाबुछोरीमा केन्द्रित छ । मुटूको रोग लागेकी छोरीलाई बचाउन बाबुले गरेको प्रयासलाई कथा बनाइएको छ । कथाअनुसार ‘बागमती’ झूर बनेको रङ पत्रकारहरूले प्रतिक्रिया दिएका छन् ।
‘बागमती’ पुराना नायक शिव श्रेष्ठ, राजेश हमाल, नायिका केकी अधिकारी, श्रेया कार्की, रमेश अधिकारी आदिले अभिनय गरेका छन् । बागमतीलाई दक्षिण भारत घर भएका सन्नी केरलाले निर्देशन गरेका हुन् ।
‘बागमती’मा लगानी भने यशोदा राई, दिनेश दर्शनधारी, विजय सत्याललगायतको छ ।
फिल्म नचलेपछि निर्माण पक्षले दर्शकहरू तान्न विभिन्न लोभ देखाएर लक्की ड्रको कार्यक्रम घोषणा गरेका छन् । फिल्मले पहिलो दिन पानी खाएपछि दर्शकलाई सुनको सिक्री, इलेक्ट्रिक बाइक दिने घोषणा गरेका छन् ।
यो घाषणा फिल्म राम्रो नबन्नु र नचल्नुकै प्रमाण रहेको रङ पत्रकारहरूको टिप्पणी छ । ‘फिल्म राम्रो भए पो दर्शक हेर्न आउँछन्’, एक जना रङ पत्रकारले भने, ‘के गर्ने फिल्म चलाउन दर्शकलाई झक्याउन सुनको सिक्री दिन्छु भन्ने । इलेक्ट्रिक बाइक दिन्छु भन्ने । अनि ठगेर भाग्ने ।’
फिल्मकी निर्मात्री यशोदा राईले फिल्मको हरेक टिकसँग एक कुपन वितरण गरिने बताएकी छिन् । उक्त कुपनलाई थिएटरको साइडमा राखिएको ‘बागमती’ बक्समा जम्मा गरेर हरेक दिन सम्पूर्ण मल्टिप्लेक्स थिएटरमा लक्की ड्र गरी एकजना भाग्यशाली दर्शकलाई चाँदीको सिक्का प्रदान गरिनेछ ।
यसबाहेक हरेक हप्ता मोबाइल फोन, होलिडे प्याकेज, डिनर विथ आर्टिष्टका साथमा सुनका गहनाहरु जस्तै सिक्री, औठी, बाला आदि प्रदान गरिने राईले बताइन् ।















प्रतिक्रिया