३० आश्विन २०८३, शुक्रबार

नेपाल क्रिकेट सङ्घको तदर्थ समिति अध्यक्षमा सिलवाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramesh_silwal– मुना कार्की
काठमाडौँ, २४ पुस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले धादिङका रमेश सिलवालको अध्यक्षतामा नेपाल क्रिकेट सङ्घ (क्यान)को तदर्थ समिति गठन गरेको छ ।

क्रिकेट सङ्घको विषयलाई लिएर विवाद भइरहेका बेला परिषद्ले आज सिलवालको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको हो । अध्यक्ष सिलवाल मदन भण्डारी स्पोटस एकेडेमीका अध्यक्ष एवम् गोल्डेन गेट कलेजका सञ्चालक समेत हुनुहुन्छ ।

अध्यक्ष सिलवालले नियुक्तिपछि राससलाई प्रतिक्रिया दिँदै भन्नुभयो– “राखेपले गठन गरेको यो आधिकारिक तदर्थ समिति हो, हामी केही दिनमा नै क्रिकेट खेललाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा अभ्यास गरेर नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछौँ ।”

त्यसैगरी तदर्थ समितिका उपाध्यक्षमा रवीन्द्र अधिकारी, शैलेश कर्माचार्य र दीपक साउद तथा महासचिवमा पूर्वकप्तान पवन अग्रवाल, सचिवमा पूर्ण लामा र कोषाध्यक्षमा भरत केसी हुनुहुन्छ । त्यस्तै सदस्यमा लव क्षेत्री, दिवाकर पौडेल, डा हरिशङ्कर शाह, सुरेश लाल, रितु सिंह, रञ्जित तामाङ, निर्वाण चौधरी र विनायक पोखरेल रहेको राखेपले जनाएको छ ।

करिब एक महिनाअघि तत्कालीन अध्यक्ष टङ्क आङ्बुहाङसहितको समूहले बहिष्कार गरेको साधारणसभाले चतुरबहादुर चन्दको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको थियो तर राखेपले यसलाई मान्यता नदिएर क्यानको सम्पूर्ण अधिकार कार्यकारी अधिकृत भावना घिमिरेलाई दिएको थियो ।

उता चन्द अध्यक्ष रहेको नेतृत्वले पनि आफूहरु आधिकारिक रहेको भन्दै कानुनी प्रक्रियामा जाने बताएको छ ।

साग–उसु खेलमा १७ खेलाडीले भाग लिने

भारतमा हुने १२ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालबाट उसु खेलमा १७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । उसुअन्तर्गत सान्सौंमा छ पुरुष र ती महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् भने थाउलोमा समान चार चार पुरुष÷महिला खेलाडीले सहभागिता जनाउने छन् ।

सान्सौंको पुरुषतर्फको ५२ केजी तौलसमूहमा दसौँ सागका स्वर्ण पदकधारी राजकुमार रसाइली, ५६ केजीमा राजेश चौधरी, ६० केजीमा मङ्गलप्रसाद थारु, ६५ केजीमा सरोज पुन, ७० केजीमा चित्रसिंह ठकुरी तथा ७५ केजी तौल समूहमा दसौँ सागका रजतपदक विजेता धनवीर महर्जन सहभागी हुँदैछन् ।

त्यसैगरी महिला ५२ केजीमा एघारौँ सागकी कास्यपदक विजेता झरना गुरुङ, ६० केजीमा जुनी राई र ७० केजीमा विन्दु पुन मगरले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । थाउलोको पुरुषतर्फ विश्व बुढा मगर, युवराज थापा, विजय सिंजाली र हरि गोले तथा महिलातर्फ सविता राई, सुस्मिता तामाङ, ओसिन राई र निमा घर्ती मगर छन् ।

सागमा सहभागी हुने उक्त टोली थप प्रशिक्षणका लागि आज पोखरा प्रस्थान गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले बिदाइ गर्दै उसु खेलबाट पदकको आशा गरेको बताउनुभयो ।
प्रथम राष्ट्रिय ट्वेन्टी ट्वेन्टी क्रिकेट

प्रथम राष्ट्रिय ट्वन्टी ट्वन्टी युवा अन्तर–क्लब क्रिकेट प्रतियोगिता यसै महिना सञ्चालन हुने भएको छ । युवा सङ्घ नेपालको आयोजनामा हुने उक्त प्रतियोगिता यही पुस २८ देखि आगामी माघ ५ गतेसम्म सञ्चालन गरिने आयोजकका खेलकुद विभाग प्रमुख वेगबहादुर पाण्डेले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपाल आर्मी क्लबसहित काठमाडौँ उपत्यका बाहिरका कास्की, मकवानपुर, नुवाकोट लगायतबाट १६ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले रु एक लाख एक हजार १११ का साथै ट्रफी प्राप्त गर्नेछ । त्यसैगरी दोस्रो स्थान हासिल गर्ने टोलीले ट्रफीका साथै रु ५१ हजार १११ प्राप्त गर्नेछ । नकआउटका आधारमा खेलाइने उक्त प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र पुल्चोक इन्जिनियरिङ मैदानमा सञ्चालन हुनेछ । रासस