३० आश्विन २०८३, शुक्रबार

बङ्गबन्धु कप खेल्न नेपाली टोली बङ्गलादेश प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bangabandhu-Gold-Cup

काठमाडौँ, २३ पुस । बङ्गबन्धु गोल्ड कप खेल्न बङ्गलादेश प्रस्थान गर्न लागेको नेपाली टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बिदाइ गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, एन्फा कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान मानन्धरलगायतले खेलाडी तथा पदाधिकारीलाई सफलताका लागि शुभकामना दिनुभयो ।

बङ्गलादेश प्रस्थान गर्ने टोलीमा २३ खेलाडी र सात पदाधिकारी रहने छन् । अधिकाङ्श २३ वर्षमुनिका खेलाडी समावेश भएको टोलीको गोलकिपरमा एलान न्यौपाने, अमृत चौधरी र विकास कुथु छन् भने डिफेन्डरमा आदित्य चौधरी, अनन्त तामाङ, विराज महर्जन, देवेन्द्र तामाङ, कमल श्रेष्ठ, रविन श्रेष्ठ र मनबहादुर तामाङ समावेश छन् ।

त्यस्तै, मिडफिल्डरमा अन्जन विष्ट, विक्रम लामा, विशाल राई, हेमन गुरुङ, जगजीत श्रेष्ठ, जङ्बु शेर्पा, प्रकाश बुढाथोकी, सुनिल बल र तेज तामाङ परेका छन् भने स्ट्राइकरको जिम्मेवारी विमल घर्तीमगर, नवयुग श्रेष्ठ, रञ्जन विष्ट र सुमन लामाले पाएका छन् ।

टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन, गोलकिपर प्रशिक्षकमा उपेन्द्रमान सिंह तथा व्यवस्थापकमा विराटजङ्ग शाही छन् ।

मुख्य प्रशिक्षक पेट्रिक एसेम्स पारिवारिक कारण देखाउँदै बेल्जियमबाट नफर्किएकाले महर्जनलाई जिम्मेवारी दिनुपरेको सिइओ तुलाधरले जानकारी दिनुभयो । उहाँले एसेम्सको स्क्वार्डमा रहेका केही खेलाडी घाइते भए पनि नयाँ प्रशिक्षण टोलीले विकल्पमा उस्तै खेलाडी छनोट गरेकाले वर्तमान टोली बलियो रहेको दाबी गर्नुभयो ।

नेपालको समूहमा मलेसिया, आयोजक बङ्गलादेश र श्रीलङ्का समावेश छन् । नेपालले आफ्नो पहिलो खेल जनवरी ९ मा मलेसियासँग खेल्ने छ भने उसको दोस्रो भेट १२ तारिखमा श्रीलङ्कासँग हुनेछ । त्यस्तै नेपालको समूह चरणको अन्तिम भिडन्त १४ तारिखमा आयोजक बङ्गलादेशसँग हुनेछ ।

यसैबीच, नेपाली टोली आज राति बङ्गलादेश प्रस्थान गर्ने एन्फाले जनाएको छ । रासस