
धनगढी, २२ पुस । ‘दोस्रो राष्ट्रिय यु १९ प्रतियोगिता’ खेल्न भारतको सहरानपुर गएको धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले आज पहिलो खेलमा भारतको इलाहाबाद टिमलाई ८७ रनको फराकिलो अन्तरले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको छ ।
कप्तान विक्रम ठगुन्नाको टस जितेर पहिले ब्याटिङ लिने निर्णयलाई सही सावित गर्दै डिसिएका दीपेन्द्र थापाले ४० तथा यम कार्कीले अविजित ३९ रनको पारी खेलेपछि डिसिएले २० ओभर पूरा खेलेर ४ विकेटको क्षतिमा १५९ रन बनाएको थियो ।
युवा ब्याट्सम्यान लोकेश बमले अविजित १८, हिक्मत सेठीले आठ तथा काशी भाटले छ रन स्कोर गर्दै डिसिएलाई पहिलो जित दिलाएको टोलीमा सहभागी धनगढी क्रिकेट एकेडेमीका यज्ञराज जोशीले बताउनुभयो ।
डिसिएको जितमा मुख्य भूमिका भने बलरहरुको रह्यो । कप्तान विक्रम ठगुन्नाले चार ओभरको स्पेलमा दुई ओभर मेडन राख्दै पाँच रनमात्र खर्चेर दुई विकेट दिएपछि विपक्षी टिम धरासायी बनेको थियो ।
दीपेन्द्र थापाले दुई तथा महेश अधिकारी, लक्ष्मण पार्की तथा शिवराज ऐरले समान एक÷एक विकेट लिएपछि इलाहाबादको टिम १५.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रनमा समेटिन पुगेको थियो । भारतमा भइरहेको उक्त प्रतियोगितामा डिसिएले नेपालको प्रतिनिधित्व गरिरहेको छ । रासस















प्रतिक्रिया