१४ कार्तिक २०८३, शनिबार

द्रुतमार्गबाट ४४ प्रकारका औषधि मात्र आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौँ, २१ पुस । स्वास्थ्य मन्त्रालयले द्रुत मार्गबाट ४४ प्रकारका औषधि ल्याउने भएको छ ।

मन्त्रालयले ८४ प्रकारका औषधिका लागि टेन्डर आह्वान गरेको भए पनि ४४ प्रकारका मात्र औषधिको लागि टेन्डर परेपछि बाँकी औषधि अन्य विकल्पबाट ल्याउने तयारी भएको छ ।

भारतीय अघोषित नाकाबन्दी र तराईमा जारी मधेस आन्दोलनका कारण नेपालमा औषधिको अभाव भएपछि मन्त्रालयले द्रुतमार्गबाट औषधि ल्याउन टेन्डर आह्वान गरेको थियो ।

सोह्रवटा नेपाली तथा भारतीय कम्पनीले औषधि ल्याउनका लागि टेन्डर हाली छनोटमा परेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँकी ४० प्रकारका औषधि टेन्डरबाट ल्याउँदा अत्यधिक महँगो पर्ने भएकाले ती औषधि दातृ निकायबाट राहत स्वरुप प्राप्त हुने र नियमित टेन्डरअनुसार ल्याइनेछ ।

रु २० करोडको औषधि दु्रतमार्गबाट ल्याउने भनिएको भएपनि हाल छ करोडको मात्र सम्झौता भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

मन्त्रालयले विभिन्न दातृ निकायबाट नेपाललाई अत्यावश्यक औषधि प्राप्त हुने क्रम जारी रहेको जनाएको छ । आज पनि मन्त्रालयलाई चीन र अस्ट्रेलियालगायतका देशबाट ब्लड ब्यागलगायतका औषधि प्राप्त भएको जनाइएको छ ।

चिसोका कारण भूकम्पप्रभावित क्षेत्रका मानिस बिरामी पर्ने र मृत्यु हुने अवस्थामा पुगेपछि स्वास्थ्य मन्त्रालयले औषधि र चिकित्सकसहितको टोली भूकम्प प्रभावित जिल्लामा खटाएको छ । प्रभावित १४ जिल्लाका जिल्ला अस्पतालमा भने जाडो रोक्ने उपाय अवलम्बन गरेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

गएको वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पका कारण ११०० स्वास्थ्य संस्था भवन भत्किएका छन् जसमा अतिप्रभावित १४ जिल्लाका ७०० भन्दा बढी स्वास्थ्य संस्था छन् । स्वास्थ्य मन्त्री रामजनम चौधरीले भूकम्पप्रभावित जिल्लामा स्वास्थ्य सेवा उपलब्ध गराउन मन्त्रालय गम्भीर रहेको बताउनुभयो । उहाँले भन्नुभयो– “हामी सचेत छौँ, त्यसैले औषधिसहित चिकित्सकको टोलीलाई प्रभावित जिल्लाका गाउँगाउँका स्वास्थ्य केन्द्रमा खटाइएको छ ।

मन्त्री चौधरीले औषधि र चिकित्सक नपुगेकोमा मन्त्रालयको हेल्प डेक्समा फोन गर्न पनि आग्रह गर्नुभयो । सरकारले औषधि अभाव भएपछि त्यसको सहजताका लागि १६६०–०१३३४४४ नंको पैसा नलाग्ने (टल फ्रि) नम्बर सञ्चालनमा ल्याएको छ । रासस