काठमाडौँ, २० पुस । उपप्रधानमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सिपी मैनालीले महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘बालविवाहको न्यूनीकरणमार्फत लैङ्गिक हिंसा सम्बोधन’ विषयक अन्तरक्रियामा उहाँले महिलामाथि हुने हत्या, हिंसा, बलात्कार, अपहरणलगायत महिलामाथि हुने हिंसा अन्त्य गर्न सरकारले योजना बनाएको समेत बताउनुभयो ।
बालविवाह न्यूनीकरकणका लागि सरकारले बालविवाहसम्बन्धी राष्ट्रिय रणनीतिसमेत ल्याउने तयारी गरेको उपप्रधानमन्त्री मैनालीले जानकारी दिनुभयो । बालविवाह अन्त्य गर्ने सवालमा ऐन÷कानुनको प्रभावकारी कार्यान्वयन र जनचेतनासँगै बालिका शिक्षा अत्यन्त महत्वपूर्ण हुने उहाँको भनाइ छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज कल्याण समितिकी सभापति रञ्जुकुमारी झाले लैङ्गिक हिंसाका रूपमा आएको बालविवाहजस्तो जघन्य अपराधलाई अन्त्य गर्न सबैको उत्तिकै भूमिका हुने बताउनुभयो । नेपालमा बालविवाह दर ४१ प्रतिशत रहेको छ ।
महिला मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले महिला हिंसा अन्त्य गर्न महिलाको मात्र भन्दा पनि पुरुषको पनि उत्तिकै भूमका हुने धारणा राख्नुभयो ।
सोही अवसरमा उप्रधानमन्त्री मैनालीले लैङ्गिक हिंसाविरुद्धको सरकारको सद्भावना दूतमा चुनिनुभएका अभिनेता राजेश हमाल, कप्तान पारस खड्का र गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेलाई सद्भावना दूतको आधिकारिकपत्र प्रदान गर्नुभयो । रासस












प्रतिक्रिया