१३ कार्तिक २०८३, शुक्रबार

पार्टी एकढिक्का बनाउन कार्यकर्ताको दबाब आवश्यक: सभापति कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Susil Koirala 3पोखरा, १७ पुस । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेपाली काँग्रेसलाई एक ढिक्का बनाउन कार्यकर्ताले नेतृत्वलाई दबाब दिनुपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस, कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्र एकआपसमा आरोप प्रत्यारोपको संस्कृति मौलाएको र यसले समग्र सङ्गठनलाई हित नगर्ने हुँदा नेतृत्वलाई एक बनाउन कार्यकर्ताले आफ्नो कुरा राख्नुपर्ने बताउनुभयो ।

“बाह्रौं महाधिवेशनलाई एकताको महाधिवेशनका रुपमा लिए पनि १३ औंँ महाधिवेशन आउँदासम्म पनि पार्टीमा भावनात्मक एकता कायम हुन सकेको छैन,” उहाँले भन्नुभयो, “संस्थागत मर्यादा कायम गर्दै आरोप प्रत्यारोपबाट नभई पार्टीभित्र एकता कायम गर्नु आवश्यक छ ।”

देशमा लोकतन्त्रका लागि नेपाली काँग्रेसले लामो समयदेखि अनवरत सङ्घर्ष गरेको बताउँदै उहाँले देशलाई हिंसात्मकताबाट शान्तितर्फको बाटोमा बढाउँदै नेपाली जनताको लामो समयको सङ्घर्षको उपलब्धिका रुपमा काँग्रेसकै नेतृत्वमा देशले नयाँ लोकतान्त्रिक संविधान प्राप्त गरेको बताउनुभयो ।

देशलाई सङ्कट परेका बेला काँग्रेसले नै नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गर्दै सभापति कोइरालाले मधेसमा जारी आन्दोलनलाई वार्ताकै माध्यमबाट समाधान गर्न पार्टी दृढ रहेको उल्लेख गर्नुभयो ।

जननायक विपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता र मेलमिलापकै जगमा काँग्रेसले हिंसात्मक विद्रोहलाई शान्तिमा रुपान्तरण गरेको बताउँदै उहाँले देशका जस्तासुकै समस्याको समाधानका लागि पार्टीले अग्रसरता लिने उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले नेपाली जनताको चेतनास्तर उचो बनाउन नेपाली काँग्रेसको महत्वपूर्ण भूमिका रहेको बताउँदै गाउँ, समाजमा आफ्ना हकहित र अधिकारका लागि सङ्गठित हुने विद्यमान अवस्थाको सिर्जना काँग्रेसकै देन भएको उल्लेख गर्नुभयो ।

मधेसले शान्तिपूर्ण आन्दोलनका माध्यमबाट आफ्ना पहिचान स्थापित गर्न खोजेको उल्लेख गर्दै उहाँले मधेस आन्दोलनको राजनीतिक रुपमा समाधान गर्न काँग्रेसले अग्रसरता लिनुपर्ने बताउनुभयो ।

वर्तमान सरकारले संविधानलाई मिचेर भागबण्डाका नाममा मन्त्रालय फुटाएको उल्लेख गर्दै उहाँले सरकारलाई जोगाउने नाममा राज्यको अर्बौंको दायित्व बढ्ने गरी गरिएको कार्य गलत भएको टिप्पणी गर्नुभयो ।

नेपाली काँग्रेस, कास्कीका सभापति एवम् सांसद यज्ञबहादुर थापाले विभिन्न राजनीतिक विचारका राजनीतिक दललाई एक ठाउँमा ल्याएर काँग्रेसले राष्ट्रलाई लोकतान्त्रिक संविधान दिएको बताउनुभयो ।

संविधानको कार्यान्वयनका जिम्मालाई पनि दृढताका साथ काँग्रेसले पूरा गर्ने बताउँदै उहाँले देशलाई अब आर्थिक समृद्धि र विकासको बाटोमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो । रासस