
– नरेन्द्रसिह कार्की
दार्चुला, १५ पुस । दार्चुला जिल्लालाई बुधबार देशकै २३ औ तथा सुदूरपश्चिममा पहिलो जिल्लाको रुपमा साक्षर जिल्ला घोषणा गरिएको छ ।
साक्षर नेपाल अभियान अन्तरगत साक्षरता कार्यक्रम सञ्चालन गरी जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । साक्षर जिल्ला घोषणा नेपाली काग्रेस प्रवक्ता एवं पूर्व शिक्षा राज्यमन्त्री दिलेन्द्रप्रसाद बडूले एक समारोहका बीच गरेका हुन् । घोषणा सभामा बोल्दै बडूले शाक्षर घोषणापछि जिल्लामा शैक्षिक जागरण शुरु भएको बताए । उनले भने, शिक्षामा परिवर्तन गर्नको लागि सबैले आफ्नो क्षेत्रबाट व्यवहार परिवर्तन गर्नुपर्छ । चेतनाको स्तर के कति छ भन्ने कुराको मापन गर्न शैक्षिक अभियान चालू भएको उनको भनाई छ ।

२०६८ सालको जनगणनाअनुसार साक्षर घोषणाको लागि आवश्यक १५-६० उमेर समूहको ९५ दशमलव ४ प्रतिशत जनसंख्या साक्षर भएपछि जिल्लालाई साक्षर घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी विष्णुदत्त भट्टले बताए । १५-६० उमेर समूहको जनसंख्या ६९ हजार २ सय ६२ हो । ०६८ सालकै जनगणना अनुसार ३१ हजार ४ सय २० जनसंख्या निरक्षर रहेको थियो । हाल २९ हजार ९ सय ६७ जनसंख्या साक्षर भएका छन् । जिल्लामा अझै १ हजार ४ सय ५३ जना निरक्षर छन् । उनीहरुलाई निरन्तर शिक्षामार्फत साक्षर बनाउने लक्ष्य रहेको जिल्ला शिक्षा अधिकारी भट्टले बताए । उनले अबको एक वर्षभित्र जिल्लालाई पूर्ण साक्षर घोषण गर्न लाग्नु पर्ने बताए ।

घोषणा सभामा जिल्लास्ति राजनीतिक दलका प्रतिनिधि, शिक्षा क्षेत्रका व्यक्तित्व, शिक्षक विद्यार्थी लगायत सर्वसाधारणको ठूलो उपस्थिती रहेको थियो । घोषणा सभामा बोल्ने वक्ताहरुले अब जिल्लालाई पूर्ण साक्षर घोषण गर्न लाग्नुपर्ने धारणा राखे । अझै गाउँ घरमा थुप्रै व्यक्ति निरक्षर रहेको भन्दै घोषणालाई मुर्तरुप दिन सबैको साथ सहयोग आवश्यक पर्ने बताएका हुन् ।
साक्षर जिल्ला घोषणा भइरहँदा केही बुद्धिजीविहरु भने हचुवाको भरमा जिल्लालाई साक्षर घोषणा गरेको बताइरहेको थिए । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य देखाएका थिए ।













प्रतिक्रिया