जाजरकोट, २७ असार । डोल्पा जिल्ला त्रिपुराकोट गाविस– ९ स्थित करेलीकाँडामा गएराति लाखौँको लुटपाट भएको छ ।
राति १० बजेको समयमा आठ / दश जनाको समूहमा आएका नकाबधारीले करेलीकाँडाका छिरिङ ग्याल्जन लामाको घरमा कटुवा पेस्तोल कानमा तेस्र्याएर नगद चार लाख लुटेका छन् ।
आफूसँग भएको यार्चागुम्बा पनि लुट्न खोजेको र गाउँमा होहल्ला मच्चिएकाले गाउँलेहरु सबै जम्मा भएर घेरा हालेपछि लुटेराहरु चच्चुको लेकतर्फ भागेको लामाले टेलिफोनमार्फत जनाएका छन् ।
आज बिहान इलाका प्रहरी कार्यालयलाई जानकारी गराएपछि प्रहरी नायब निरीक्षक रोमहर्ष सिजुवालको नेतृत्वमा १० जना तथा लिकु र पहाडा इलाका प्रहरी कार्यालयबाट टोली खटाई अपराधीलाई उम्कन नदिने प्रयास गरिएको प्रहरी नायब निरीक्षक सिजवालले जानकारी दिनुभयो ।
यता, डोल्पाको धो गाविसमा गत जेठ २० गते स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच भएको झडपमा परेर स्थानीय दुई युवाको मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न सरकारी टोली सदरमुकाम दुनैमा आइपुगेको छ ।
धो गाविसमा यार्सा शुल्क विवादलाई लियर स्थानीय बासिन्दा र यार्सा मौसम व्यवस्थापनका लागि धो पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीका फौजबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिने भन्दै लाठी चार्ज गर्ने क्रममा घाइते भएका धो–६ ताक्सीका २७ वर्षीय छिरिग फुर्वा गुरुङ र धो–४ का ४५ वर्षीय टुण्डुप लामाको उपचारका क्रममा मृत्यु भएको थियो ।
आवश्यकभन्दा बढी बल प्रयोग गर्ने क्रममा सुरक्षाकर्मीको लाठी चार्जका कारण मृत्यु भएको खबर सार्वजनिक भएपछि घटनाको छानबिन गर्न सरकारी पक्षबाट मध्यपश्चिमाञ्चल क्षेत्रका क्षेत्रीय सहप्रशासक राजकुमार श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन टोली डोल्पाको सदरमुकाम दुनैमा पुगेर धो घटनाका बारेमा जानकारी लिने काम सुरु गरेको हो ।
गएको शुक्रबारमात्र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले त्यहाँ पुगेर तयार पारेको स्थलगत अनुगमन प्रतिवेदन डोल्पाको दुनैमा सार्वजनिक गर्दै सुरक्षा फौजकै लाठी चार्जका क्रममा घाइते भएर नै धोका दुई युवाको मृत्यु भएको तथ्य सार्वजनिक गरिएको थियो ।
धो घटनाको यथार्थता बुझ्न डोल्पा पुगेको सरकारी छानबिन टोलीले इन्सेकले तयार पारेको प्रतिवेदनसमेत मागेर अध्ययन गरिरहेको छ ।
जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, सरोकारवाला निकाय, घटनामा संंलग्न नेपाल प्रहरीका इन्चार्ज र सशस्त्र प्रहरी धो अस्थायी क्याम्पका निरीक्षक जीवन मल्ललगायत पत्रकार र मानव अधिकारकर्मीसँग छानबिन टोलीले जानकारी लिएको छ ।
जानकारी लिने क्रममा टोलीले बोलाएको सर्वपक्षीय भेलामा सहभागीले घटनाका सम्बन्धमा इन्सेकले तयार पारेको प्रतिवेदनले नै सबै कुरा बोलेकाले दोषीलाई कारबाही र पीडितलाई न्यायसहितको क्षतिपूर्ति दिनुपर्ने र अब आइन्दा यस्ता घटना दोहोरिन नदिन सरकारी पक्षले समयमै उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन् ।
















प्रतिक्रिया