
भक्तपुर, १३ पुस । भूमिसुधार तथा व्यवस्था सहायकमन्त्री दिनेश श्रेष्ठले विगतमा ४० लाख गैरनेपालीलाई बाँडिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने बताउनुभएको छ ।
सूर्यविनायक नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताको माझमा’ नगरस्तरीय प्रचार अभियानमा उहाँले मधेसमा जारी आन्दोलन नेपाली नागरिकता लिने गैरनेपालीले उठाएको जिकिर गर्दै भन्नुभयो– “पहिला ४० लाख गैरनेपालीलाई नेपाली नागरिकता दिँदा तराई आन्दोलनका नाममा दशगजा कब्जा भएकोे छ, यही सरकारले गैरनेपालीलाई दिइएको नागरिकताको छानबिन गरेर नियम विपरीत बाँडिएका त्यस्ता नागरिकता फिर्ता गर्नुपर्छ ।”
मधेसकेन्द्रित दललाई लक्ष्य गर्दै सहायकमन्त्री श्रेष्ठले भन्नुभयो– “आन्दोलन गरेर जनतालाई दुःख दिएर होइन, जनतामाझ गएर जनताकै दुई तिहाइ मतबाट आफ्नो एजेन्डा स्थापित गर्नुस् ।”
कार्यक्रममा सभासद् केदार सञ्जेल र डिल्लीराज काफ्लेले नेपालको संविधानमा सबैको अधिकार स्थापित भएको बताउँदै चित्त नबुझेको विषय संविधान संशोधनमार्फत अगाडि बढ्नुपर्ने औँल्याउनुभयो ।
त्यस अवसरमा प्रजिअ तोयम राया र कानुनविद् गौरीबहादुर कार्कीले संविधान साझा दस्तावेज भई जनताको अधिकार समेटिएकाले यसलाई सफल कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । नगरपालिकाका कार्यकारी अधिकृत यामलाल अधिकारीले संविधानका बारेमा जनतालाई जानकारी दिन र जनताको मनमा रहेको भ्रम चिर्न यस प्रकारको प्रचार कार्यक्रमले निकै टेवा पुग्ने बताउनुभयो । रासस












प्रतिक्रिया