१३ कार्तिक २०८३, शुक्रबार

टहरो छाडेर आफै घर बनाउन कस्सिए गुम्दाका भूकम्प पीडित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ghar 2
फाइल तस्वीर

– प्रशन्न पोखरेल
गुम्दा (गोरखा), १२ पुस । गुम्दा–६ स्थित चेतबहादुर गुरुङले भूकम्पले भत्काएको घरको भग्नावशेष हटाएर पुरानै जगमा नयाँ घर निर्माण सुरु गर्नुभएको छ ।

“जाडोमा कठ्याङ्ग्रिएर टहरोमा बस्नुभन्दा आफ्नै घरमा फर्कियौं, टहरोमा शीत चुहिएपछि बालबच्चा बिरामी परे”–उहाँले भन्नुभयो । भूकम्पपछिका आठ महिना खेतमा बनाएको टहरोभित्र दिनरात काटेका गुरुङको परिवार अहिले पूरानै बस्ती फर्किएर नयाँ घर उभ्याउन व्यस्त देखिन्छ ।

चिसोबाट बच्न मात्रै नयाँ घर बनाउनुपरेको भन्दै गुरुङले सरकारले पैसा दिएपछि भूकम्प प्रतिरोधी घर बनाउने इच्छा रहेको बताउनुभयो । अहिले निर्माण गरिएका घर पहिलेजस्तो ढुङ्गाको गारोमा मात्रै निर्भर छैन । तल्लो तला गारोलगायत भूकम्पपीडितले माथिल्लो तला भने काठले बारेका छन् ।

पहिलेको भन्दा फरक खालको घर बनाएको जानकारी गराउँदै अर्का भूकम्पपीडित कान्छा गुरुङले भन्नुभयो, “जगदेखि पहिलो तला चारैतिर ढुङ्गाको गारो लगायौँ, अब माथिल्लो तलाको चारैतिर काठले बार्छौँ ।” गारोको बीचबीचमा अग्ला खाबो गाडेका उनीले आफ्नै बुद्धिले भूकम्पप्रतिरोधी घर उभ्याएका हुन् ।

आर्थिक अवस्था कमजोर रहेका भूकम्पपीडितले आलोपालो, अर्मपर्म लगाएर घर बनाएका छन् । केही भूकम्पपीडितले चर्केको पूरानो घर मर्मत गरेर पनि बस्नयोग्य बनाएका छन् । ढुङ्गाको गारोको सट्टा काठको प्रयोग गरिएको छ । एकपछि अर्को ढुङ्गाको सुर मिलाएर यहाँ घरको गारो लगाइन्छ । ढुङ्गा अड्याउन गिलो माटोको प्रयोग गरिँदैन ।

चिसो बढेपछि त्रिपालमा बस्न नसकेर पूरानै घर मर्मत गरेको बताउँदै अर्की भूकम्पपीडित सुष्मा गुरुङले भन्नुभयो, “जाडोमा पालमुनि सुत्न सकिँदैन । नयाँ घर बनाउने पैसा भएन । पूरानै घर मर्मत गरेर बस्यौँ ।” जोखिम मोलेर पूरानै घरमा बसेका उनीहरु गर्मी सुरु भएपछि सुरक्षित ठाउँमा सर्ने बताउँछन् ।

अस्थायी टहरोमा बस्दै आएका भूकम्पपीडित चिसोले गर्दा बिरामी परेपछि पूरानै बस्तीमा सुरक्षित साथ बस्न आग्रह गरिएको पूर्व प्रधानपञ्च गजमान गुरुङले बताउनुभयो । “सरकार बदलियो तर घर बनाउने पैसा आएन”– पूर्व मलाया लाहुरेसमेत रहनुभएका ८६ वर्षीय गुरुङले भन्नुभयो, “गरिबलाई सधैँ दुःखको दुःख ।”

चिसोले गर्दा दीर्घरोगी, सुत्केरी र बालबालिकालाई समस्या देखिएको महिला स्वयम्सेविका अनात्र गुरुङले बताउनुभयो । स्वास्थ्य संस्थामा राहतको औषधि केही मात्रामा बाँकी भए पनि स्वास्थ्यकर्मी भने तालिमका लागि सदरमुकाम झरेका छन् । स्वास्थ्य संस्थामा कार्यालय सहयोगी मात्रै भेटिन्छन् । स्वास्थ्य संस्था पनि भूकम्पपछि टेन्टमा राखिएको छ । गाविस सचिव पनि सदरमुकाम झरेको गाउँलेहरु बताउँछन् ।

केयर नेपालले गाउँमा सामूहिक शौचालय निर्माण गरिदिएको छ । १५ दिनमा एक पटक गाउँले जुटेर गाउँको सरसफाइ गर्छन् । भूकम्पले भत्काएका गाउँ, बस्तीको भगनावशेष तह लगाउने कामदारको गाउँमा अभाव छ । नयाँ संरचना निर्माण गर्दा कसरी भूकम्प प्रतिरोधी बनाउने भन्ने जानकारी दिने प्राविधिक गाउँमा छैनन् ।

भूकम्पपछि विश्व खाद्य कार्यक्रमको सहयोग र सप्रोसको समन्वयमा गाउँमा नयाँ बाटो निर्माण गरिएको छ । गुम्दामा कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत भूकम्पपीडितले काम गरेर चामल र दाल बुझेका छन् । आलु, जौ, फापर, सिलाम खेतीले यहाँका बासिन्दालाई छ महिना खान पनि पुग्दैन । मजदुरी र वैदेशिक रोजगारीबाट आएको पैसाले घर चलाउनुपरेको स्थानीय धनबहादुर गुरुङले बताउनुभयो । “सरकारले न्यानो कपडाका लागि बाँडेको भनेको रु दश हजार हामीलाई कहिले दिन्छ ?, जाडो सकिएपछि पैसा बाँड्नुको कुनै औचित्य हुँदैन ।”–उहाँले भन्नुभयो । रासस