काठमाडौं, १२ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जनकपुरको जानकी मन्दिरमा भएको घटनामा संलग्न १४ जनालाई अभियुक्तलाई पक्राउ गरेको सरकारले जनाएको छ ।
संसदको आजको बैठकमा समय लिएर बोल्दै गृहमन्त्री शक्तिबहादुर बस्नेतले घटनामा संलग्न मध्ये ४ जना महिला रहेका छन् ।
विवाह पञ्चमीका दिन राष्ट्रपतिको जानकी मन्दिर भ्रमणका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले राष्ट्रपति भण्डारीलाई अभद्रव्यवहार गरेका थिए । सो विषयमा सदनमा जानकारी गराउन रुलिङ भएपछि गृहमन्त्री बस्नेतले जानकारी दिनुभएको हो ।
गृहमन्त्री बस्नेतले भन्नुभयो, ‘राष्ट्रपति विद्यादेवी भण्डारीको जानकी मन्दिर भ्रमणका क्रममा अभद्र व्यवहार गर्नेमध्ये ११ जना पुरुष र ४ महिला पक्राउ परेका छन् । पक्राउ परेकामध्ये तीन जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत कार्वाही प्रक्रिया अघि बढाइएको छ । घटनाको थप अनुसन्धान जारी रहेको छ । छानविनका लागि तीन वटै सुरक्षा निकायका अधिकारी सम्मिलित छानविन समितिले अहिले काम गरिरहेको र केही दिनभित्रै समितिले सरकारलाई प्रतिवेदन बुझाउनेछ ।’
बस्नेतले दर्शनार्थी मन्दिर प्रवेश गरेपछि केही व्यक्तिहरु मन्दिर परिसरभित्र प्रवेश गरी पेट्रोल बम हान्ने, विवाह मण्डप तोडफोड गर्ने, मन्दिरमा लात्ती प्रहार गर्ने काम भएपछि बाध्य भइ सुरक्षाकर्मीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
गृहमन्त्री बस्नेतले जानकी मन्दिरमा भएको घटनाका बारेमा सदनलाई जानकारी दिइ रहँदा मधेसी मोर्चा र थारु सांसदहरूले सभामुखको रोष्ट्रम अगाडि नाराबाजी र होहल्ला गरीरहेका थिए ।
‘मधेसी मोर्चाका केही कार्यकर्ताबाट जानकी मन्दिरमा जे भएको छ, त्यो लैंगिक हिंसा भएको छ । राष्ट्रपतिविरुद्ध अभद्र र अशोभनीय कार्य भएको छ । यो कार्यको नेपाल सरकार घोर निन्दा र भत्र्सना गर्दछ’, गृहमन्त्री बस्नेतले भननुभयो ।












प्रतिक्रिया