काठमाडौं, १२ पुस । प्रधानमन्त्री केपी ओली र एकीकृत माओवादीका अध्यक्ष एवम् उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक विषयमा परामर्श भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (आइतबार) बिहान भएको भेटवार्तामा मधेसी मोर्चाको आन्दोलन र संसदको गतिरोध अन्त्यका विषयमा छलफल भएको हो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार प्रधानमन्त्री ओली र संयन्त्रका संयोजक दाहालबीच संसदनको गतिरोध अन्त्यका विषयमा मधेसी मोर्चा र प्रमुख विपक्षी दल नेपाली कांग्रेससँग भएको परामर्शका बारेमा छलफल भएको हो ।
‘एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ज्यूले कांग्रेस र मधेसी मोर्चासँग गर्नुभएको परामर्शहरूका विषयमा छलफल गर्नुभएको हो’, सल्लाहकार दाहालले भन्नुभयो, ‘सदनको गतिरोध अन्त्य र मधेसी मोर्चाको आन्दोलनलाई समाधान पुगाउने विषयमा कुराकानी भएको छ ।’
प्रधानमन्त्री ओलीले पनि संयोजक दाहाललाई राजनीतिक गतिरोध अन्त्यका विषयमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
एमाओवादी अध्यक्ष एवम् राजनीतिक संयन्त्रका संयोजक दाहालले प्रमुख विपक्षी दल नेपाली कांग्रेस र मधेसी मोर्चाका नेताहरूसँग समग्र राजनीतिक विषयमा छलफल गर्दै आउनुभएको छ ।
छलफलहरू सकारात्मक रुपमा अगाडि बढ्दै आएको दाहालले प्रतिक्रिया दिँदै आउनुभएको छ ।












प्रतिक्रिया